‘ताउ–ते’ को प्रभावले मौसम बदली, आज देशभरको मौसम कस्तो रहला ?

५ जेष्ठ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ ।पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ‘ताउ–ते’ को प्रभावले मौसम बदली भएको हो ।

अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ । बाँकी भू(भागमा सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरि राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।