१६ वैशाख, बाँके। बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । मृतक हुनेमा बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको रहेका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
५८ वर्षीय पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति ८ः५५ बजे मृत्यु भएको हो । यसैगरी ४३ वर्षीया महिलाको बुधबार संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७ वर्षीया महिलाको आज विहान ८ बजे मृत्यु भएको छ । यही वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएकोमा १२ गते अस्पताल भर्ना गरिएको थियो ।









