१३ वैशाख, कास्की। कोरोना संक्रमणको जोखिम तीव्र बन्दै गएपछि प्रशासनले वैशाख १५ गते बुधबार बिहानदेखि कास्कीमा एक साताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि एक हप्तासम्मका लागि जिल्लामा निषेधाज्ञा लागू हुने सूचना जारी गरेको हो । सोमबार राति सूचना निकालेर प्रशासनले २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।
दैनिक उपभोग्य खाद्यवस्तु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने छ । सिनेमा हल, नाचघर, दोहोरी साँझ, बार, डिस्को, सुनचाँदी पसल,रंगशाला, जिमखाना , सैलुन व्युटी पार्लर टेलरिङ जस्ता क्षेत्र भने खोल्न नपाइने आदेशमा उल्लेख छ ।
अति आवश्यक सेवा बाहेक सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर लागू गरिएको छ । विवाह, पूजाआजा जस्ता संस्कार जन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न नपाइने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी १५ भन्दा बढी सहभागी हुन पाइने जनाएको छ ।










