कार्यालयमै पुगेर पत्रकार गिरफ्तारकाे घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

१२ वैशाख, काठमाण्डौ। नेपाल पत्रकार महासंघले उज्यालो नेटवर्कका दुईजना पत्रकार गिरफ्तारीमा परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार महासंघले विज्ञप्ति जारी गरी उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भन्ने आदेश दिइसकेको स्मरण गराउँदै महासंघले यस्तो अवस्थामा कार्यालयमै पुगेर पत्रकार गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको ठहर गरेको छ।

महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङसहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ । साथै अनलाइनमा प्रकाशित समाचारको विषयमा प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ ।

कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ । त्यतिमात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रस्ट पारेको छ।’

[sidebar name="button post"]