४ चैत्र, काठमाण्डौ। काठमाण्डौको बल्खु पुल नजिक सोमबार साँझ सुकुम्बासी बस्तीमा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुकुम्बासी बस्तीमा हत्या गरेर बोरामा पोको पारेको अवस्थामा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको शव फेला परेको हाे ।
काठमाण्डौकै जोरपाटी माइती भएकी सन्तोषीले सन्तोष सापकोटासँग अन्तरजातिय विवाह गरेकी थिइन् । उनीहरुले बल्खुमा फर्निचर व्यवसायसमेत सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय सम्बन्ध बिग्रिएपछि सन्तोषीले पतिसँग सम्बन्ध विच्छेदको माग गर्दै आएको आफन्तहरुले बताएका छन्।
प्रहरीको अनुसन्धान अनुसार सन्तोषले कोठामा श्रीमतीको हत्या गरेपछि तन्नामा पोको पारेर बोरामा शव फ्यालेको पाइएको छ । प्रहरीले उनी सुत्ने घरमै हत्यामा प्रयोग भएको हतौडा, रगताम्ये सिरक, मृतकको जुत्ता, लागूऔषध डाइजेपामको फुटेको सिसा लगायत बरामद गरेको छ ।
सन्तोषीको शवको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ ।
यता प्रहरीले हत्यापछि मृतकको हातको बाला, दुईवटा मुन्द्रा, २३ हजार रुपैयाँ नगद र आइफोन समेत लिएर भागेको अवस्थामा सन्तोषलाई पक्राउ गरेको छ । सन्तोष लागूऔषध दुर्व्यसनी समेत हुन् ।











