Ad #144479

रमिता दंगाल

कोरोना महामारीकै बिच पर्सी मंगलबारदेखि कक्षा १२ को परिक्षा सुरु हुँदैछ । गएको चैतमा तय भएको परिक्षा ९ महिनापछि हुन लागेको हो । गएको नोभेम्बरमा चीनको वुहानमा कोरोना भाइरस देखा परेको हो । कोरोना भाइरस देखा परेको एक वर्ष भैसकेको छ । यहि भाइरस गएको माघमा नेपालमा पनि देखियो । त्यसपछि संक्रमण बढ्न थाल्यो । शैक्षिक सत्र सुरु हुने बेलामा नै कोरोना संक्रमण देखा परेपछि सबै विद्यालय र कलेजहरु बन्द भए । स्कुल कलेज मात्रै होइन, अरु सबै गतिविधि ठप्प भए । तर अहिले बिस्तारै चलायमान हुन थालेको छ ।

जोखिम कायमै:

तर कोरोना संक्रमण फैलने जोखिम भने घटेको छैन । चिसो अझ बढ्दो छ । चाडपर्व सकिए । चाडपर्व मनाउन घर गाउँ गएकाहरु पनि कर्मथलोमा फर्कन थालेका छन् । जोखिम घटेको छैन । तर यसैक्रममा कक्षा १२ को परिक्षा सुरु हुन लागेको हो । मंगलबारदेखि हुने परिक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।

कोरोना महामारीकै बिचमा परीक्षा संचालन हुँदैछ । विद्यार्थीहरुले घरबाट निस्केर परीक्षा केन्द्रसम्म पुगेर ढुक्कसँग परिक्षा दिने अवस्था भने अझै पनि बनिसकेको छैन । त्यसैले परिक्षाका लागि मापदण्ड तयार पारिएको छ । कोरोनाले गर्दा लामो समयसम्म घरभित्र नै बसेकाले विद्यार्थीहरुले राम्रोसँग तयारी गर्न समेत सकेका छैनन् ।

उनीहरुमा आफ्नो परीक्षा कस्तो हुने हो भनेर मानसिक तनाब बढेको छ । तनाबमुक्त भएर परीक्षा हलमा जानुपर्ने बेलामा अहिले त्यो अवस्था छैन । परीक्षा दिन जाँदा कोरोना संक्रमण हुने पो हो कि भन्ने डर उनीहरुमा हुने भएको छ ।

मनकामना सेकेण्डरी विद्यालय (जया मल्टिपल क्याम्पस) मा परीक्षा संचालनको तयारी

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका माकलबारीमा रहेको मनकामना सेकेण्डरी विद्यालय (जया मल्टिपल क्याम्पस) ले परीक्षा संचालनका लागि अन्तिम तयारी भैरहेको जनाएको छ । ‘यसबर्ष परीक्षा संचालन गर्न निकै चुनौतीपूर्ण रहेको छ । यसमा पनि स्वास्थ्य मापदण्ड, सचेतना र के कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको छ’ मनकामना स्कुलका प्रधानाध्यापक भवानीप्रसाद पौड्यालले भन्नुभयो,‘झन्डै नौ महिनाको अन्तरालपछि विभिन्न ठाउँ, जिल्ला र समुदायबाट विद्यार्थी एकै ठाउँमा आउंदै छन् ।

यसरी आउँदाखेरि एक खालको संक्रमणको डर त बढ्छ नै यो एउटा चुनौति रहेको छ । हामीले कसरी व्यवस्थापन गर्ने भन्ने अर्को चुनौती छ ।’ परिक्षा सञ्चालन गर्दा विद्यार्थीहरु ढुक्क भएर परीक्षा हलसम्म आउन सक्ने वातावरण बनाउनुपर्छ । अभिभावकले पनि ढुक्क भएर आफ्ना छोराछोरीले परीक्षा दिन सकुन् भन्दै आउनुभएको छ । विद्यार्थी र अभिभावको चाहना अनुसार परीक्षा केन्द्रसम्म पठाउन सक्ने वातावरण बनाउनुपर्ने चुनौती रहेको प्रधानाध्यापक पौड्यालले भन्नुभयो ।

चुनौती र व्यवस्थापन

कोरोना संक्रमण जोखिमकै बिच हुन लागेको कक्षा १२ को परिक्षामा मुख्यतः स्वास्थ्य सम्बन्धिको पाटोमा चुनौती छ । परीक्षा संचालन र व्यवस्थापनको पक्षमा खासै चुनौतीपूर्ण नरहेको तर संक्रमण नहोस् भनेर चिन्ता कायमै रहेको प्रधानाध्यापक पौड्यालले कागेश्वरी खबरसँगको कुराकानीमा बताउनुभएको छ । ‘परीक्षा केन्द्रसम्ममा आइसकेपछि ठुलो संख्यामा विद्यार्थीहरु साथीहरु बिचमा घुलमिल हुन सक्छन् यसमा चाहिँ बिद्यार्थीहरुले पनि सतर्कता अपनाउन पर्ने, एक आपसमा नजिक नहुँने ,भिडभाड गर्ने नहुने उहाँको सुझाब रहेको छ ।

विद्यार्थीहरु सार्वजानिक बसमा आउनुपर्ने हुन सक्छ । घर आउँदा र जाँदाको बिचमा पनि संक्रमण हुन सक्ने डर हुन्छ त्यो बेला नि विद्यार्थीहरु अलिकति चनाखो हुनुपर्ने, दुरी कायम गर्नुपर्ने प्रधानाध्यापक पौड्यालले जानकारी दिनुभयो । स्वास्थ्य मापदण्ड पालना गरेर हिँड्ने हो भने खासै समस्या नहुने र सहज रुपमा पनि उहाँले बताउनुभयो ।

सबै चनाखो हुनुपर्नेमा जोड

मनकामना स्कुलका प्रधानाध्यापक पौड्याल हिसान काठमाण्डौ जिल्ला सचिव पनि हुनुहुन्छ । हिसानका सदस्य बिद्यालयलाई पनि उहाँले स्वास्थ्य प्रोटोकलमा ध्यान दिन र परीक्षा सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्य चेकअप गर्न, उनीहरुको स्वास्थ्य समस्या के छ ? भनेर बुझेर व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ । सिट प्लान गर्दा पनि सकेसम्म एउटा बेञ्चमा एक जना विद्यार्थी राख्न र दूरी कामय गर्न पनि उहाँको सूझाव छ ।

‘मनकामना स्कुलले बेञ्चहरु ठुलो भएकाले अगाडिको बेन्चमा एकजना विद्यार्थी राख्यो भने त्यहाँ भन्दा पछाडीको बेन्चमा दुई जना राखेर व्यवस्थापन गरेको छ’ उहाँले भन्नुभयो,‘परीक्षा सिट प्लानको पनि एउटा छुट्टै मापदण्ड रहेको छ । सकेसम्म त्यसैअनुसार व्यवस्थापन हुन्छ । परिक्षा सञ्चालन गर्दा स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना हुन्छन् । अनि पालना गर्नुपर्छ ।’