कोरोना जित्नेहरुबाट संक्रमितलाई सहयोग : गोकर्णेश्वर नगरपालिका ८ मा मासिक १०० अभियान

  • 100
  •  
  •  
  •  
  •  
  •  
  •  
    100
    Shares

समिता श्रेष्ठ

कोरोनाले धेरैलाई दुःख र पिडा दिएको छ । नागरिक रोग र भोकसँगै शोक खप्न बाध्य छन् । काम नगरी दैनिक जीवन नचल्नेहरुका पिडा शब्दले समेट्न सक्दैन । त्यो त भोग्नेलाई मात्रै थाहा छ । झन् कोरोना संक्रमित भएर घरमै थुनिएकाहरु उकुसमुकुस अवस्थामा छन् । कोरोनासँग जुध्नेहरुलाई सकस छ ।

घरमै आइसोलेसनमा बस्नुपर्ने अवस्थामा समस्या अनेक छन् । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा मासिक सय अभियान नेपाल संस्थाले कोरोना उपसमिति गठन गरि केहि राम्रा कामहरु सुरुवात गरेको छ ।

मासिक सय अभियान

मासिक सय अभियान नेपाल संस्था २०७३ साल असोज १ गते सुरु भएको हो । तर २०७३ साल चैत ५ गतेदेखि जिल्ला प्रसासन कार्यालय काठमाडौंमा दर्ता गरि संस्थाले बिधिवत् रुपमा परोपकारका काम अगाडि बढाएको थियो । अभियानकै माध्यमबाट अपाङ्ग, असहाय, अनाथ बालबालिकाहरुका लागि काम हुँदै आएको छ । मासिक १०० दान गर्ने सदस्यहरु २३७ जना पुगेका छन् ।

संस्थाको आम्दानीको स्रोत भनेकै सदस्यबाट प्राप्त रकम र जन्मदिनको अवसरमा संस्थालाई सामाजिक व्यक्तित्वहरुले प्रदान गर्दै आएको रकम मात्र हो ।

कोरोना संक्रमितका लागि सहयोग गर्न उपसमिति

कोरोना महामारीको समयमा पनि मन, बचन र कर्मले मानवीय सेवामा लाग्दै गरेको यो संस्थाले २०७७ साल कार्तिक १५ गते कोरोना संक्रमित सहयोग उपसमिति गठन गरेको छ । यो उपसमिति कोरोना जित्नेहरु मिलेर गठन गरिएको हो । समितिमा अहिले १२ जना सदस्य छन् ।

कोरोना भाइरस घरपरिवार तथा समाजमा फैलिनबाट न्यूनिकरण गर्न, समुदाय स्तरबाट नै केही गर्नुपर्ने उदेश्य राखेर गठन गरिएको समितिले संक्रमितहरूलाई मनोपरामर्श, दैनिक फोन सम्पर्क एवं आर्थिक रूपमा कमजोर भएकाहरूलाई पौष्टिक आहार वितरण गर्दै आएको छ ।

यो समिति गठन गर्ने सोंच होम आइसोलेशनमा बस्ने क्रममा होम आइसोलेशनमै बस्दै गरेका मासिक १०० अभियान नेपालका साथीहरूसंग कुरा गर्ने क्रममा आएको मासिक १०० अभियान नेपालका अध्यक्ष सन्जय पोखरेलले बताउनुभयो ।

सेवा बिस्तार गर्दै लैजाने तयारी

कोरोनासंग लड्दै गरेका संक्रमितका लागि अहिले अभियान केन्द्रित छ । कोरोना पोजेटिभ हुँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी पावर कम हुने भएकोले यस्तो अवस्थामा अलि भिन्न खालको ताजा र स्वस्थ खालको नियमित सन्तुलित आहार (ब्यालेन्स डाइट) आवश्यक पर्छ । त्यसका लागि उपसमितिले गोकर्णेश्वर नगरपालिको वडा नम्बर ८ लाई कार्यक्षेत्र बनाई पौष्टिक आहार वितरण तथा संक्रमितहरुको मनोबल बढाउन बिभिन्न काम गर्ने योजना अनुसार पहिलो चरणमा प्रत्यक्ष रुपमा भेटघाट तथा अनुभव साटासाट गर्ने काम भएको मासिक सय अभियान नेपालका अध्यक्ष संजय पोखरेलले बताउनुभयो ।

साथै अभियानमा अरु सहयोगी र स्वंयमसेवी जोडिए अभियानलाई गोकर्णेश्वर नगरपालिकामा बिस्तार गर्ने योजना रहेको समेत उहाँले जानकारी गर्नुभयो । ‘कोरोनाको अन्य औषधि छैन । यसको लागि आवश्यक औषधि भनेको नै उच्च मनोबल हो, उहाँले भन्नुभयो,‘त्यसको साथसाथै साथिहरुको साथ र हौसला पनि आवश्यक छ ।’

कोरोनालाई जित्नुभएका एवं मासिक १०० सहयोग उपसमितिका उपसंयोजक प्रकाश अधिकारी पनि आफ्नै भोगाइबारे भन्नुहुन्छ,‘कोरोनाको औषधि आत्मबल नै हो । कोरोनाको औषधिको सकारात्मक सोंच, आत्मबल, हौसला साथीभाई र समाजको साथ नै हो ।’

संक्रमितलाई माया र मनोबल

मासिक सय अभियानका अभियन्ता तथा कोरोनालाई जितिसकेकाहरु भन्छन्,‘संक्रमितलाई माया गरौं, आफू जोगिएर सक्दो सहयोग गरौं, तर निरुत्साह, कमजोर र मनोबल गिराउने काम नगरौं । हौसला र माया दिएर औषधिको काम गर्न सकिन्छ । अभियान सदस्य एवं कोरोना जितेकी पवित्रा पौडेल भन्नुहुन्छ,‘जुनसुकै रोगको औषधि पनि ५० प्रतिशत मेडिकल औषधि र ५० प्रतिशत आत्मबल नै हो ।

हामिले खाने भिटामिनहरु हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन हो ।’ मानवीय सेवाभावबाट प्रेरित भएर स्थापना गरेको संस्था र अभियान हुनाले मासिक १०० अभियानमा जो सुकै ब्यक्ति पनि जोडिन सक्ने र सहयोग गर्न सक्ने संस्थाका अध्यक्ष पोखरेल बताउनुहुन्छ ।

मन, बचन र कर्मका साथ मासिक १०० दान गरे मात्रै पुग्छ । यो अभियानबाट संकलन भएको सहयोग अनाथ बालबालिका, अपांग असहाय तथा ज्येष्ठ नागरिकहरुका लागि सदुपयोग हुँदै आएको छ । त्यसको साथसाथै अहिले कोरोना महामारीको कारण संक्रमित नै भएर दैनिकी चलाउन गाह्रो हुनेलाई पनि मासिक १०० कोरोना संक्रमित सहयोग उपसमितिले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा सहयोग गर्दै आइरहेको छ ।


  • 100
  •  
  •  
  •  
  •  
  •  
  •  
    100
    Shares