समिता श्रेष्ठ
तपाईंले प्लाष्टिक सर्जरी शब्द सुन्नुभएको छ ? पक्कै सुन्नु भएको होला ! तपाईं हामीमध्ये धेरैले प्लाष्टिक सर्जरीबारे सुनेका छौँ । कोहि कोहि त प्लाष्टिक सर्जरी गर्नेपनि हुन सक्छौँ । तर प्लाष्टिक सर्जरी के होला ? कसरी गरीन्छ होला । सर्जरी पछि के हुन्छ होला सर्जरी नै गर्ने थोरै बाहेक अरु धेरैलाई सहि जानकारी छैन ।
यसैबारेमा अध्ययन गर्नुभएका डाक्टर निरन महर्जन अहिले प्लाष्टिक सर्जनका रुपमा वीर अस्पतालमा कार्यरत हुनुहुन्छ ।
अध्ययन
काठमाण्डौको बसन्तपुरमा २०३५ साल चैत्रमा जन्मेका महर्जन वडा नम्बर १७ खुसीबुमा बस्नुहुन्छ । नेपाल मेडिकल काउन्सीलको लाइसेन्स परिक्षा पास भएर धुलिखेल अस्पतालमा सर्जरी विभागमा काम गर्न थाल्नुभयो । ‘धुलिखेल अस्पतालले लगाएको गुन बिर्सन सक्दिन, त्यहाँबाट सिकेको सिपलाई अझ परिमार्जन गरि सर्जरीमा अझ निपुण बन्न भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेसबाट मास्टर डिग्री पास गर्नु भयो ।’
उहाँले काठमाडौंको न्याम्स, वीर अस्पतालमा ३ बर्षे एमसिएच प्लाष्टिक सर्जरी बिषयमा आवद्ध भई प्लाष्टिक सर्जरीको विशेषज्ञता हासिल गर्नु भएको हो । पछिल्लो एक बर्षदेखि वीर अस्पतालमा कार्यरत उहाँ भबिष्यमा प्लाष्टिक सर्जरीको पनि एस्थेटिक विद्यामा काम गर्ने बताउनुहुन्छ ।
प्लाष्टिक सर्जरीबारे सोंच र कौतुहलता
प्लाष्टिक सर्जरीबारे जनमानसमा रहेका धारणाबारे डाक्टर निरन भन्नुहुन्छ,‘सामान्यतया हामी यथार्थ भन्दा हावा गफमा मक्ख पर्ने र चाहिने कुरा भन्दा नचाहिने कुरामा समय बढी खर्चने गर्छौं । प्लाष्टिक सर्जरी भनेको कुनै प्रकारको प्लाष्टिक प्रयोग गरेर दाग रहित पद्दति नै त होला भन्ने अनुमानलाई नै साँचो मानेर बसेका पनि हुन सक्छौँ ।
तर आशिंक रुपमा यो सोंच साँचो भएपनि प्लाष्टिक सर्जरी भनेको खास के हो ? भनेर जान्ने कौतुहलता नबढेको र खोजीनीति पनि नगर्नाले धेरै भ्रम समाजमा विद्यमान छ । ’
प्लाष्टिक सर्जरी र यसको विधा
प्लाष्टिक सर्जरीबारे डाक्टर महर्जन यसरी भन्नुहुन्छ : सर्जरी भनेको शल्यक्रिया हो भने प्लाष्टिक शब्द ग्रीक शब्द “प्लाष्टिकोष” बाट उत्पति भएको शब्द हो जसको अर्थ ‘कुनै पनि चिजलाई आफ्नो प्रतिकूल मोड्नु वा ढाँचा परिवर्तन गर्नु’ भन्ने हुन्छ । अर्थात शरीरको कुनै पनि भागलाई आफूले चाहेको अनुरुपमा फेरबदल गर्नु भन्ने बुझ्न सकिन्छ ।
प्लाष्टिक सर्जरीको दुई वटा विधा हुन्छ । पहिलो विधा कस्मेटिक सर्जरी हो जसले शरीरको कुनै पनि भाग यदि नमिलेको वा मन नपरेको छ भने आफ्नो इच्छा अनुरुप त्यसलाई मिलाउन वा बनाउन कोशिस गर्दछ भने दोस्रो विधा रिकन्सट्रकटिभ हो जसले सामान्य तरिकाले निको पार्न नसकिने घाउलाई अलग धारबाट त्यसलाई निको बनाउने कोशिस गर्दछ ।
यसको साथसाथै आगोले वा कुनै प्रकारको जलनको कारण उत्पन्न जुनसुकै समस्याको उपचार पनि गर्ने विधा प्लाष्टिक सर्जरी हो ।’
प्लाष्टिक सर्जरीमा पनि दाग हुने
प्लाष्टिक सर्जरीबारे थप जानकारी दिदै डाक्टर महर्जन भन्नुहुन्छ,‘आंशिक रूपमा अर्थात् लेजरको प्रयोग वा कुनै औषधीको प्रयोग गरेर कयौं कस्मेटिक समस्याहरु ठिक पार्न सक्ने भएता पनि मुख्य रुपमा प्लाष्टिक सर्जरी सामान्य शल्यक्रिया अनुरुप नै शरीरमा घाउ बनाएर गर्ने शल्यक्रिया हो भनेर बुझ्नु जरुरी छ ।
सामान्य शल्यक्रियामा घाउ निको भइसके पश्चात देखिने दाग वा घाउको खतलाइ वास्ता गरिदैंन भने प्लाष्टिक सर्जरीमा यसको विशेष ख्याल राखिन्छ । तसर्थ, पूर्ण रुपमा दाग नै नहुने पद्दतिको रुपमा भ्रम लिएर बसेको आम सर्वसाधारणले यो बुझ्नु जरुरी छ कि यो उपचार पद्दतिबाट पनि दाग बस्छ तर त्यस्तो दाग मिलेसम्म बाहिरबाट देख्ने भागमा नहुने वा बाहिरी देख्ने भागमा भएतापनि नजिकबाट नियालेर हेर्दा मात्र छुट्याउन सक्ने किसिमका हुन्छन् ।
शल्यक्रिया पश्चात बसेको दागलाई सकेसम्म लुकाउने कोशिस कस्मेटिक सर्जरीको बिशेषता हो भने रिकन्सट्रकटिभ सर्जरीको प्राथमिकतामा सबैभन्दा छिटो छरितो तरिकाले कम जोखिम अपनाएर कुनै पनि घाउलाई कसरी निको पार्न सकिन्छ, जसले भविष्यमा सकेसम्म कुनै पनि समस्या उत्पन्न नहोस् भन्ने हुन्छ ।
प्रतिरोधात्मक शक्तिमा भर पर्ने हरेक शल्यक्रियाको जसरी आफ्नै जोखिमहरू हुन्छन्, त्यस्तैगरी प्लाष्टिक सर्जरीको पनि आफ्नै जोखिमहरू छन् । राम्रो मात्र हुन्छ भनेर सोचेर बस्नु भ्रम हो भनेर बुझ्नु अति आवश्यक छ । तसर्थ अलिकति जोखिम मोलेर गर्ने हो भने धेरै जसो समयमा राम्रो नतिजा आउने तर नतिजा अपरेशन गर्ने डाक्टरको हातमा मात्र सिमित नभएर उपचार गर्न आएका बिरामीको रोग प्रतिरोधात्मक शक्तिमा पनि भर पर्ने कुरा डाक्टर निरन बताउनुहुन्छ ।
समग्रमा प्लाष्टिक सर्जरी एक प्रकारको सर्जरी नै हो जुन रोगीको मात्र उपचार गर्ने नभइ निरोगीको पनि समस्याको समाधान गर्छ । तपाईंको सोंच अनुरुप कुनै प्रकारको प्लाष्टिकको प्रयोग गरेर दागरहित भन्दा पनि दाग कम देखिने तरिकाले गर्ने शल्यक्रिया नै प्लाष्टिक सर्जरी हो भनेर अब चाहिँ बुझ्नुपर्छ ।












