रमिता दंगाल
काठमाडौं । शंखरापुर नगरपालिका–३ जहरसिंह पौवामा घर घरबाट कवाडी सामान संकलन गरेर राजनेताहरुको सम्झनामा राजनेता पार्क निर्माण हुने भएको छ ।
घरबाट निस्केको खेर जाने कवाड संकलन गरेर पार्कमा राखिने शालिक बनाउन प्रगोग गर्न लागिएको बाग्मति प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फूयालले जानकारी दिए ।
यसका लागि साझा अभियान चलाइने पनि मन्त्री फूयालको भनाई छ । कवाड संकलनका लागि नागरिकलाई आग्रह गरिने मन्त्री फूयालले बताए ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै मन्त्री फूयालले यस अभियानबाट चार पाँच हजार किलोभन्दा बढी कवाड संकलन हुने बताएका छन् । जनताले फालेको कवाड संकलन अर्थात जनताको योगदानबाट अस्ट धातुको राजनेताहरुको प्रतिमा बनाइने उनको भनाई छ ।
मन्त्री फूयालले जनतालाई अभियान कहिले सुरु गर्ने सूचना दिएर नै कवाड संकलन साझा अभियान सुरु गर्ने बताएका छन् । पार्क निर्माणको लागि संघीय सरकारले एक करोड र बागमती प्रदेश सरकारले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पार्क निर्माणको काम २०७८ सालको बैशाख मसान्तसम्म सकिनेछ । मन्त्री फूयालका अनुसार पर्यटकीय क्षेत्रको रुपमा रहेको जहरसिंह पौवालाई थप आर्कषक गन्तव्यका रुपमा विकास गर्न पार्क निर्माण गर्न लागिएको हो ।
जनतासंग कसिलो सम्बन्धका साथ निर्माण कार्य अगाडी बढाउने र जनतालाई हिसाब सार्वजनिक पनि लगातार गरिरहने पनि मन्त्री फूयालको प्रतिबद्धता छ । उद्यान निर्माणमा आम जनताको सहभागिताको लागि यसरी काम गर्न लागिएको हो ।

बागमती प्रदेश सरकारले राजनेता गणेशमान सिंहको स्मृतिमा गणेशमान उद्यानलाई ३० लाख रुपैयाँ यसै बर्ष विनियोजन गरेपछि काम शुरु भएको मन्त्री फूयालले जानकारी दिए ।












