Ad #144479

रमिता दंगाल

कार्तिक १७ , ललितपुर महानगरपालिकाले महानगरपालिकाभित्रका फुटपाथ र सडकपेटीमा यात्रा गर्नै नमिल्ने गरी पसल राख्ने व्यापारीमाथि आजदेखि कडा कारबाही गर्ने भएको छ ।

महानगरपालिकाले नगरलाई स्वच्छ ,सुन्दर र सफा बनाउनका लागि सडक छेउछाउमा राखिएका फुटपाथ पसल हटाउन अभियान चलाएको हो। सडक छेउ र फुटपाथमा मानिसहरु हिंड्डुल गर्न अप्ठ्यारो हुने ठाउँमा ठेलागाडी ,साइकल र जुनसुकै पसल राख्नेलाई तुरुन्त उठाएर कारबाही गरिने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो।

नगर प्रहरीले दुई महिना अघिदेखि फुटपाथको पसल हटाउन सम्झाईबुझाई गर्दै आएको हो। यसरी सम्झाई बुझाइ गर्दा ८० प्रतिशतले मात्र पालन गरेका छन् र अझै २० प्रतिशतले अटेर गरेका छन् र नटेर्नेलाई कारबाही गर्न लागिएको उहाँले बताउनुभयो।

ललितपुरको लगनखेल , पुल्चोक ,कुमारीपाटि ,जाउलाखेल ,कुपन्डोल लगायतका ठाउँहरु जहाँ मानिसहरुको आवतजावत बढी हुन्छ त्यस्ता ठाउँहरुमा कडा गरिएको उहाँले बताउनु भयो

नगर प्रहरी प्रमुख हाछेथुको अनुसार ठेलागाडामा पसल गर्नेलाई तीन हजार रुपैयाँ जरिवाना , साइकलमा पसल गर्नेलाई दुई हजार रुपैयाँ जरिवाना ,ढक तराजु राख्नेलाई एक हजार रुपैयाँ जरिवाना ,फुटपाथमा मोटरसाईकल राख्ने वोर्कशपलाई पाँच हजार रुपैयाँ जरिवाना र निर्माण सामग्री राख्नेलाई पनि पाँच हजार रुपैयाँ जरिवाना गरिने छ ।