अजय खत्री
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा क्याम्पस बनाउने गरी काम भैरहेको छ । त्यहाँका चारवटा विद्यालय गाभेर पाँचपोखरी थाङपाल भ्याली क्याम्पस बनाउने काम धमाधम भैरहेको हो । गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरि ५६ कोठे ५ वटा प्राविधिक भवन निर्माणको काम गरिएको हो ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले क्याम्पस बनाउन पहल गर्नुभएको हो । अध्यक्ष लामाको पहल र अरु जनप्रतिनिधि तथा स्थानीय बासिन्दा, शिक्षामा सरोकार राख्नेहरुको सहयोगमा क्याम्पस बनाउन सुरु गरिएको थियो । अध्यक्ष लामाले क्याम्पस बनाउन देखेको सपना अब छिट्रटै साकार हुने क्रममा रहेको छ ।

एसियाली विकास बैंक एडीबीको आर्थिक सहयोगमा वडा ४ को कोट गाउँको अधिकारी टोलमा क्याम्पस निर्माण गर्ने काम भैरहेको हो । रैथानेश्वरी मा.वि, चिलाउने मा.वि, टालटुलेश्वरी आधारभुत विद्यालय र सातकन्या आधारभुत विद्यालयलाई गाभेर वडामा एउटै थाङपाल भ्याली क्याम्पस निर्माणको काम थालिएको स्थानीय समाजसेवी सुन्दर सापकोटाले बताउनुभयो ।

विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समय सापेक्ष शिक्षा प्रणालीमा ग्रामिण भेगका विद्यार्थीको पनि पहुँच पुर्याउने उदेश्य रहेको सापकोटाको भनाई छ । उहाँ भन्नुहुन्छ,‘एउटै वडामा विद्यालय धेरै भए तर समय सापेक्ष शिक्षा दिन नसक्दा विद्यार्थीहरु शहर केन्द्रित हुन थालेपछि गाउँमै क्याम्पसको आवश्यकता देखियो । अब त्यो आवश्यकतालाई पुरा गर्ने चरणमा पुगेको छ ।’

अब गाउँमा नै सर्वसुलभ र सहज ढंगबाट प्राविधिक शिक्षामा जोड दिने गाउँपालिकाका अध्यक्ष टासी लामा बताउनुहुन्छ । लामाले भन्नुभयो,‘अब गाउँमा नै गुणस्तरीय शिक्षामा सबैको पहँुच पुग्ने अपेक्षा गरिएको छ । क्याम्पस बनाउन सहयोग गर्ने केन्द्र सरकार, प्रदेश सरकार, जनप्रतिनिधि, वडाबासी र आर्थिक सहयोग गर्ने एडीबीप्रति आभारी छु ।’











