ललितपुर महानगरपालिका वडा नं १५ स्थित स्वीमिङ्पुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्ड शिलान्यास गरिएको छ । भित्रिसडक निर्माण गर्ने योजनानुरुप तीन चरणअन्तर्गत २१ सडक निर्माण अघि बढाउने उद्देश्यका साथ महानगर प्रमुख चिरीबाबु महर्जनले यो सडक शिलान्यास गर्नुभएको हो ।
सो सडक खण्डको लम्बाई ३४० मिटर रहेको छ । एक्काइस वटै सडकको लम्बाई भने ८ दशमलव ६२ किलोमिटर रहेको छ । यी सबै सडक निर्माणको खर्च रु दुई करोड ६८ लाख लाग्ने प्रमुख महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँभित्र बन्ने सडक फराकिलो र गुणस्तरयुक्त हुनेछ ।” अब निर्माण हुने ती सडकको गुणस्तर प्राविधिक सहितको जनप्रतिनिधिले निरीक्षण गर्ने महर्जनको भनाइ थियो ।
महानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतमले अबको नौ महिनाभित्र १२ वटा सडकका निर्माण सक्नुपर्ने सम्झौता भएको र सो सडक निर्माण एउटै ठेकेदार कम्पनीले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य बाँकी सडक निर्माणको काम पनि क्रमशः अघि बढाउने छौँ ।” महानगरको सम्बन्धित वडाबाट निर्माणको आवश्यकता माग भएपछि त्यसको सम्भाव्यता अध्ययन गरेर बजेटको सिलिङ हेरी योजना छान्ने गरेको गौतमले बताउनुभयो ।
वडाध्यक्ष सुदर्शन मिश्रले समयमै स्वीमिङ्पुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्ड निर्माण सम्पन्न गर्न स्थानीय जनताको भूमिका अति महत्वपूर्ण रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “यस सडकको अनुगमन समय समयमा महानगरपालिकाका साथै वडाले पनि गर्ने छ ।”












