Ad #144479

रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । मलमासमा एक महिना लामो मेला लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको छ ।

मलमासको अवधिभर मच्छेनारायणमा टाढा टाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेकामा यस वर्ष चन्द्रागिरि नगरापालिकाले मेला नगर्ने निर्णय गरेको छ । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम माहात्म्य वाचन हुने गरेकामा यस वर्ष घर घरमै मच्छेनारायण पूजा एवं पुरुषोत्तममास माहात्म्य वाचन गर्न नगरपालिकाले अनुरोध गरेको नगर प्रमुख घनश्याम गिरीले बताउनुभयो ।

यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।

भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गर्नुभयो । मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ । यस वर्ष पितृपक्ष सकिएर दुर्गापक्ष शुरु हुने औँसीदेखि नै मलमास लाग्ने भएकाले नेपालीको महान् चाड बडादशैँ एवं तिहार एक महिना ढिला हुने भएको छ । असोज ३० गते मलमास सकिएपछि कार्तिक १ गते घटस्थापना गरी दशैँ शुरु हुनेछ । मलमासका कारण दशँैपछिका सबै चाडबाड ढिला हुनेछन् ।

यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो । असोज महिनामै अधिकमास भने विसं २०५८ मा परेको थियो । फेरि १९ वर्षपछि असोज महिनामै मलमास परेको छ । असोज महिनामा पर्ने मलमासमा दक्षिणी देशमा सङ्घर्ष हुने ज्योतिषशास्त्रको ग्रन्थ संवत्सर संहितामा उल्लेख गरिएको ज्योतिषी पोखरेलले बताउनुभयो ।

मलमासमा विशेषगरी भगवान् पुरुषोत्तमको पूजा आराधना गरी मालपुवा दान गरे पुण्य मिल्ने धार्मिक विश्वास छ । यो महिनामा वैदिक सनातन धर्मावलम्बीले घर घरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुन्ने गर्छन् ।