बिपी जयन्तीको अवसरमा पिसीआर उपकरण उद्घाटन

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसर पारेर अस्पतालमा रहेको पिसीआर प्रयोगशाला आज विधिवतरूपमा उद्घाटन गरेको छ । बिपीकै नामबाट स्थापना भएको सो अस्पतालले उहाँको १०७ औँ जन्मजयन्तीको अवसर पारेर प्रयोगशाला उद्घाटन गरेको हो ।

सोही प्रयोगशालामा पहिलो कोरोना सङ्क्रमण देखिएकी अस्पतालकै नर्स पूजा श्रेष्ठ र आजबाटै अस्पतालमा आएको चिनियाँ मेडिकल टिम लिडर डा झाङ वीले प्रयोगशालाको उद्घाटन गर्नुभयो ।

सो अवसरमा अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने, कार्यकारी निर्देशक डा देजकुमार गौतम, सञ्चालक समिति सदस्य डा विनय ठाकुरलगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

अस्पतालले प्रयोगशाला गत आइतबारबाट सञ्चालनमा ल्याएको हो । हालसम्म ३९२ जनाको कोरोना परीक्षण गरिएको गौतमले जानकारी दिनुभयो । अस्पतालले पिसीआर परीक्षण शुल्क रु तीन हजार ५०० तय गरेको छ ।

एक दिनमा ४०० सम्म नमूनाको परीक्षण गर्न सकिने उहाँकोे भनाइ छ । सो अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । पिसीआर परीक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ ।

समयमा पिसीआर परीक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो ।

सोबाहेक जिल्लामा सरकारीतर्फ भरतपुर अस्पतालले र निजीतर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन् । सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ ।

[sidebar name="button post"]