सिन्धुपाल्चोकको लिदी पहिरोका विस्थापितहरुलाई स्थानान्तरण कार्य सुरु

सिन्धुपाल्चोकको लिदी पहिरोका विस्थापितहरुलाई स्थानान्तरण कार्य सुरु भएको छ ।

जुगल गाउँपालिकाको वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने गरी काम सुरु भएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरि तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । सबै परिवारलाई टेन्टमा राख्ने गरि आवश्यक सामाग्री ढुवानी गरिएको छ ।

वस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णय अनुसार आजै ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

जुगल गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ । जिल्ला आयोजना कार्यान्वयन इकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउनेछ ।

जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ । आइतबार विहानैबाट सुरक्षाकर्मी खटिएर टेन्ट जडान तथा सुरक्षाको प्रवन्ध मिलाउने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो।

[sidebar name="button post"]