मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी दिएका छन् ।
तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धामा जाहेरी दिएका हुन् ।
होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल शिक्षकले पौडी खेल्न लगेको, र होस्टेलमा बसेका छोरालाई पौडी खेल्न जान स्कुल सञ्चालकले स्वीकृति दिएको पीडित परिवारले आरोप लगाएका छन् ।
बुधबारको सहमतिअनुसार प्रहरीले जाहेरी नलिएको भन्दै बिहीबार साँझदेखि उनीहरुले अनिश्चितकालीन बन्दको घोषणा गर्दै तनहुँको बाइसजाँगरमा बेंसीसहर–डुम्रे सडक अवरुद्ध गरेका थिए । शुक्रबार प्रहरीले जाहेरी लिएपछि पिडितले जिल्ला अस्पतालमा राखेको शव बुझेर आन्दोलन पनि फिर्ता लिएको पिडितका आफन्त गणेश श्रेष्ठले बताए।
गत मंगलबार दिउँसो भएको घटनालाई लिएर आक्रोशित बाइसजाँगरका स्थानीयले विद्यालयको गेट, स्कुल बस र भ्यानमा तोडफोड गरेका थिए । विद्यालयको लापर्वाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै मंगलबार बाइसजाागरका स्थानीय तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, हवाईफायर र लाठी चार्ज गरेको थियो ।
स्थानीयले प्रदर्शन चर्काउने सूचना पाएपछि अप्रिय घटना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ बजेदेखि राति ९ बजेसम्म स्कुल भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।









