बाढीले बगाएर भारत पुगेको एउटा गैँडा नेपालतर्फ आएको मौका पारेर उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जतर्फ ल्याइएको छ ।
भारतीय सीमा क्षेत्र विनय त्रिवेणी गाउँपालिका–६ बाट गैँडालाई डाट गरेर बेहोस बनाई सोमबार चितवनतर्फ ल्याइएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार अन्दाजी सात÷आठ वर्षको भाले गैँडालाई उद्धार गरी ल्याइएको हो ।
बाढीका कारण भारत पुगेको सो गैँडा यही मङ्सिर १५ गते नेपालतर्फ आएको थियो ।
निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कर्मचारीसँगै सुरक्षाकर्मीले गैँडालाई उद्धार गरेका हुन् । त्यस क्रममा ६ वटा हात्ती परिचालन गरिएको थियो ।
सन् २०१७ र २०१८ मा नेपालले भारतका विभिन्न ठाउँमा पुगेका १० वटा गैँडा फिर्ता गरेको थियो । भारत पुगेर आफै नेपालतर्फ फर्किएका तीन गैँडालाई पनि सीमा नजिकैबाट डाट गरेर चितवन राष्ट्रिय निकुञ्ज ल्याइएको थियो ।









