बारीको पाटाभरि ढकमक्क सयपत्री फूल

११ कार्तिक, बनेपा। काभ्रेपलाञ्चोकको अग्लो रमणीय पर्यटकीयस्थल कामीडाँडाका किसान मर्दन सिं तामाङले फूल खेती गरेर आम्दानी गर्दै आएको दुई वर्ष भयो । उहाँले घरबारीमा मौसम अनुसारको सयपत्री फूल खेती गरेर आम्दानी गर्दै आउनुभएको हो ।

फूलैफूलको मौसम हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा घर नजिकैको बारीमा चिया खेती समेत गर्दै आउनुभएका उहाँले चिया खेतीसँगै मौसमअनुसार फूल खेती गरेर आम्दानी गर्न थाल्नुभएको हो । “गत वर्षदेखि सुरु गरेको फूल खेतीले पनि अरु बालीभन्दा राम्रो आम्दानी हुने रहेछ”, उहाँले भन्नुभयो, “यसपालि दुई रोपनी जग्गामा सयपत्री फूल लगाएको छु ।”

उत्पादन भएको फूल व्यवसायीले गाउँमा नै किन्न आउने भएपछि खेती गर्न थालेको उहाँले बताउनुभयो । गाउँमा व्यावसायिक रुपमा फूल खेती गर्ने उहाँ मात्रै भए पनि व्यवसायीले गाउँमा नै किन्न आउने गरेपछि केही वर्षयतादेखि काँमीडाँडाका किसानले घर आँगनमा नै फूल्ने फूललाई अलिअलि स्याहार गर्दै १०÷१५ किलोसम्म बिक्री गर्न थालेको उहाँले बताउनुभयो ।

सो ठाउँमा उत्पादित फूल किलोमा १०० र माला उनेर बिक्री गर्दा प्रति माला रु २०० सम्म बिक्री हुने उहाँले बताउनुभयो । यो वर्ष दोस्रो पटक परीक्षणका लागि लगाएको सयपत्री मन नै लोभ्याउने गरी फुलेको उहाँले बताउनुभयो । पहिलो वर्ष गरेको एक रोपनी जग्गामा मात्रै सयपत्री लगाइएकोमा यस वर्ष बढाएर दुई रोपनीमा गरिएको हो । आफूले चिया खेतीमा मात्रै विशेष ध्यान दिएर काम गरिरहेको भए पनि फूल व्यवसायबाट पनि आम्दानी हुन थालेपछि त्यसतर्फ पनि चासो दिएको उहाँको भनाइ छ । केही दिनअघि परेको वर्षा र हुरीका कारण फूलको बोट ढलेर क्षति पुगेको छ ।

चिया खेतीबाहेक सँगैको बारीमा लगाएको फूल खेतीले अरुलाई पनि व्यावसायिकतातर्फ लाग्न उत्प्रेरित गरेको स्थानियवासिन्दा बताउँछन् । उत्पादन भएको फूल गुणस्तरीय भएको र तिहारमा मालाको रूपमा बिक्री गर्ने गरी तयारीमा रहेको उहाँले बताउनुभयो ।

उहाँले सो ठाउँमा व्यावसायिक रुपमा चिया खेती सुरु गरेर विगत तीन वर्षदेखि आम्दानी गर्दै आउनुभएको छ । उहाँले करिब २५ रोपनी जग्गामा चिया खेती गर्दै आउनुभएको छ ।

[sidebar name="button post"]