हरिसिद्धि भवानीकाे शक्ति संचयकाे लागि धार्मिक गतिविधि गाइजात्रादेखि शुरू

८ भदौ, ललितपुर। ललितपुरको हरिसिद्धि भवानीकाे शक्ति संचय एवमं पुनःस्थापनकाे लागि धार्मिक गतिविधि शुरू भएको छ। स्थानीय भाषाामा सिद्धिदनेगु भनेर भनिने हरिसिद्धि भवानीकाे शक्ति संचय एवमं पुनःस्थापनकाे लागि गरिने धार्मिक गतिविधि गाइजात्रादेखि शुरू भएको हो।

हरिसिद्धि भवनीकाे शक्ति संचयकाे लागि गरिने शुरूवाती विधि हिजो बेलुकीबाट शुरू भएको हो। हिजो गाइजात्राकाे विधि परम्परा सम्पन्न भएपछि बेलुकी स्थानीय बाजा समूह न्येकू मंकाः बाजं खलःले परम्परागत बाजा बजाएर कुल देवता, पीठ देवताको परिक्रमा गरेसँगै हरिसिद्धिको मूल प्रवेशद्वारबाट बाहिर गएर एकैछिन बाजा बजाए पछि बाजा नबजाइकन फर्किनुपर्ने परम्परालाई निरन्तरता दिएको थियो। यसपछि हरिसिद्धिमा कुनै पनि प्रकारको बाजा बजाउनु नहुने मान्यता छ भने भोज पनि गर्न नहुने प्रचलन छ।

हरिसिद्धि भवानीको मन्दिरको भित्र र बाहिर रहेका घन्टाहरूलाई पनि बजाउन नमिल्ने गरेर बाँध्नु पर्ने नियम छ । त्यस्तै गाइजात्राको रातदेखि मन्दिरको मुख्यद्वार बन्द गरेर पुजारीबाहेक अरूको लागि प्रवेश निषेध गरिन्छ।

हरिसिद्धि भवनीकाे शक्ति संचय एवमं पुनःस्थापनकाे लागि १२ वर्षको अवधिमा कुनै पनि पुजारीको निधन भएमा रिक्त ठाउँमा नयाँ पुजारीको नियुक्ति, नवनियुक्त पुजारीलाई विशेष पूजा गरेर मन्दिरमा भित्र्याएर नाच तथा बाजाको तालिम दिने, मन्दिर मर्मत गर्ने, नयाँ मुकुट बनाउने, देवताहरूको लागि नयाँ पोशाक सिलाउने, नाटेश्वरको पुजा लगायतका विभिन्न विधिविधान गरिन्छ।

यसरी हरिसिद्धि भवनीकाे शक्ति संचय एवमं पुनःस्थापनकाे विधि पूरा भएपछि फुल्चोकी माइकहाँ गएर ढोका खोलेर १२ वर्षे एतिहासिक प्राचिन गोदावरी सिंहस्थ मेला शुरू गरिन्छ।

हरिसिद्धि भवानीलाई फुल्चोकीबाट ल्याएको भन्ने गरिन्छ। त्यसैले गोदावरी सिंहस्थ मेला अगाडि हरिसिद्धि भवानीको शक्ति संचय एवमं पुनःस्थापना गर्ने गरिन्छ।