काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो।
आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात पनि सञ्चालनमा आएका छन् । २५ सिट क्षमताभन्दा बढीका यस्ता सवारी साधनलाई जोरबिजोरका आधारमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चल्न दिइएको छ ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (२ जना) बाहेकका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र अन्य जिल्लाबाट सवारी पास लिई आएका बाहेक अन्य सवारी साधन काठमाडौँ जिल्ला भित्र प्रवेशमा रोक लगाउने ।
अत्यावश्यक कार्य जस्तै मृत्यु संस्कार, बिरामी तथा कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान सम्बन्धित स्थानीय तहको सिफरिस सहित जिल्ला प्रशासन कार्यालमा निवेदन पेश गरेमा अन्तर जिल्लामा आवत जावत गर्न सहजीकरण गरिने ।
अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध,दूरसञ्चार, इन्टरनेट मर्मत, लगायतका सवारी साधनहरु व्यानर वा प्रिन्टमा विषय उल्लेख गरेर निर्वाध रुपमा सञ्चालन गर्न पाउने ।
स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, एम्बुलेन्स, विरामी बोकेको सवारी साधन तथा स्वास्थ्य सामाग्री ढुवानी गर्ने साधन स्वास्थ्य मापदण्ड पालना गरी निर्वाध सञ्चालन गर्न पाउने ।
निजी सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्न पाइने । भ्यान, कार, जीपमा बढीमा चार जना र ट्याक्सीमा तीन जनासम्म सवार हुन पाउने ।
काठमाडौँ उपत्यका भित्र मात्र सञ्चालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोर प्रणालीमा विहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने ।
सरकारी, सर्वाजनिक संस्थान, कुटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, मल बिउ विजन पशु चिकित्सक लगायतका अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन गर्न पाइने ।
तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूधजन्य पदार्थ र सोको प्याकिङ सामाग्री , ग्यास, इन्धन सरसफाइमा प्रयोग गरिने माक्स, साबुन सेनिटाइजर लगायत सामग्री ढुवानीका साधनमा ब्यानर तथा प्रिन्ट राखेर बिहान ९ः बजेदेखि ११ः०० बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ः०० बजेसम्म सञ्चालन गर्न पाउने ।
सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने ।









