१ असार, काठमाण्डौ। सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ । रातिको समय र विद्यूत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन सकेको छैन । आज बेलुका साढे ६ बजे मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो ।
बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौटे भन्ने बजार पनि डुबानमा परेको छ । कम्तिमा ७ जना स्थानीवासी वेपत्ता भएका छन् । मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाको क्याम्प पनि डुबानमा परेका छन् ।
इलाका प्रहरी कार्यालय हेलम्बुमा पनि पानी पसेको छ । नदी छेउछाउमा रहेका टहरा र घरहरु सबै बगाएको र मानिसहरु भागदौड गर्दै सुरक्षित स्थानमा गएका र केहि पक्की पुलहरु पनि बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उज्यालो नभइकन केही गर्ने अवस्था नरहेको पनि प्रहरीले जनाएको छ।













