आजबाट जेठ १३ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, अत्यावश्यक बाहेकका कार्यालय बन्द

३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट थपिएको निषेधाज्ञा जेठ १३ गतेसम्म लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ ।

उपत्यकामा गएराति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बुधबार राति १२ बजेदेखि यसअघि तोकिएको निषेधाज्ञाको समयावधि सकिएकाले थप दुई हप्ता निषेधाज्ञा जारी गरिएको हो ।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो ।

औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय वैशाख ३० गतेदेखि बन्द गर्न÷गराउन आदेश जारी गरिएको छ ।

[sidebar name="button post"]