Ad #144479

२ वैशाख, भक्तपुर। मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि बुद्धकृष्णवाग श्रेष्ठले जिब्रो छेडेका छन् ।मध्यपुर थिमी ८ बोडेका श्रेष्ठले बिहीबार आठौँ पटक जिब्रो छेडाएका हुन् । यसअघि २०६२ देखि ०६५ सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका श्रेष्ठले २०७४ सालदेखि लगातार जिब्रो छेडाउँदै आएका छन् ।

पेशाले एम्बुलेन्स चालक रहेका बुद्धकृष्णले अघिल्लो वर्ष कोरोनाको कारणले एम्बुलेन्स चलाउनुपरेकाले जिब्रो छेड्न पाएनन् । जिब्रो छेड्नकै लागि तीन दिनदेखि उनी भोकै बसेका थिए । जिब्रो छेड्नकै लागि करिब एक फिट लामो सियोलाई एक महिनादेखि तेलमा डुबाएर राखिएको थियो ।

जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी लगाएर जिब्रो छेड्नुअघि शक्ति पिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती बोकी बोडे नगर परिक्रमा गरियो ।