नेपालमा कोरोनाको दोस्रो लहरको त्रास बढ्दै, सर्बसाधारण अझै भएनन् सचेत

यमुना सापकोटा

१० चैत्र, काठमाण्डौ। हाल विश्वभरी फैलिरहेका कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दियो र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरि सकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ। अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सिमित भएका छन्।

कोरोनाका कारण विभिन्न व्यवसायमा लागेका व्यक्तिहरुको व्यवसाय नै ठप्प भएको थियो। हामीले यसबाट बच्नका लागि विभिन्न स्वास्थ मापदण्डहरु अपनाउन आवश्यक हुन्छ जुन हाल प्राय: मानिसहरुले मात्र अपनाएको देखिन्छ। अहिले धेरै मनिसहरुले कोरोनालाई बेवास्ता गर्ने गरेका छन्। जस्तै: अनावश्यक भिडभाड गर्ने, मास्कको प्रयोग नगर्ने, स्यानिटाइजरको प्रयोग नगर्ने, सामाजिक दुरी कायम नगर्ने।

कोरोनाको त्रास बढ्दै गए पनि सर्वसाधारण भने अझै सचेत भएका छैनन्। अझै पनि पसलमा बस्दा, बाटोमा हिड्दा स्वास्थ्य सावधानी अपनाएको पाइंदैन। यहि विषयमा हामीले मास्क नलगाई बसेका चाबहिल आसपासका केहि व्यक्तिलाई हामीले तपाईंहरुले किन मास्क नलगाई बस्नुभएको भनेर सोधेका थियौं।

चाबहिल गणेशस्थानस्थित मोबाइल पसल संचालक ३१ बर्षीय बिकास हुमागाईं भन्नुहुन्छ, ”माक्स लगाउँदा पनि एक किसिमको असर नै हुन्छ, मानिसहरुसँग कुराकानी गर्नु पर्यो भने मास्क लगाउने गर्छु अरु बेला मास्क फुकालेर राख्ने गरेको छु। मास्क फुकालेर आनन्दले बस्छु। कोरोनाको डर चैं मलाइ लाग्दैन तर मबाट चैं अर्को कसैलाई संक्रमण नहोस भन्ने कुरामा चाहिं सचेत हुन्छु ।

चाबहिल गणेशस्थानस्थित बस पर्खाइमा बस्नु भएकी बिद्यार्थी १९ बर्षीय आराधना पौडेल भन्नुहुन्छ, पहिला कोरोना सुरु हुने बेला समाचार पनि डराउने खालको नै आउने भएर कोरोनासँग सार्है डर लाग्थ्यो तर अहिले चैं सबै साधारण जस्तो भएको छ। त्यसैले डर अलिक नभएर नै मास्क नलाएको हो तर अब लगाउनु चैं पर्छ।

त्यस्तै चाबहिलको गङ्गाहिटिस्थित किराना पसल गर्दै आउनु भएको ४९ बर्षिय जल्दिप गुप्त भन्नुहुन्छ, ”म ग्राहकबाट ३ फिट टाढा छु। ग्राहक आउनु भयो भने पनि टाढाबाटै सामान दिने गर्छु त्यसैले म मास्क लाउन जरुरी ठान्दिन। ”

त्यस्तै चाबहिल गणेशस्थानस्थित होटेल गर्दै आउनुभएका ४५ बर्षिय ऋषि राम धिताल भन्नुहुन्छ, ”मास्क त लगाई नै रहिन्छ। तर अहिले मुख धोएर बसेको भएर नलगाएको हो । अलिक भिड हुँदा मात्र म मास्क लगाउने गर्छु।

महामारीको रुपमा फैलिरहेको कोरोनालाई लिएर अझै पनि मानिसहरु हांसी मजाकको रुपमा लिरहेका छन्। चाबहिलको गणेशस्थानस्थित बाटोमा पानीपुरी बेच्दै आउनु भएकी २६ बर्षिय शर्मिला भन्नुहुन्छ, ”मास्क चैं बोक्या छु तर कोरोना आइपुगेको छैन त्यहि भएर लगाएको छैन। अहिले वरपर खासै कोरोना आइसकेको छैन। त्यसैले लगाएको छैन तर वरपर कोरोना आयो भने चाहिं सजक हुन्छु। ”

त्यसैगरी चाबहिलको गणेशस्थान मन्दिर प्राङ्गणमा बस्नु भएकी ३५ बर्षिय सिता थापा भन्नुहुन्छ,”कोरोनासँग डर चैं लाग्छ तर अहिले यहाँ भिडभाड छैन त्यसैले लागको छैन। यता उता हिंड्डुल गर्दा भिड तिर जाँदा चैं लगाउने गर्छु।”

कोरोनाको जोखिम बढ्दै छ तर पनि मानिसहरु अझै पनि आफु सचेत हुने भन्दा पनि देखासिकी गर्ने गर्दछन। त्यस्तै चाबहिलको गणेशस्थानस्थित तरकारी व्यवसाय गर्दै आउनु भएका २७ बर्षिय सोनु राय भन्नुहुन्छ, ”यहाँ तरकारी किन्न आउने मानिसहरुले मास्क नै लगाउनु हुन्न अनि मैंले पनि मास्क खासै प्रयोग गर्दिन तर होटेल तिर जाँदा चै मास्कको प्रयोग गर्ने गर्छु।”

हाम्रो छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण दिन प्रति दिन बढ्ने क्रममा छ। युरोपका कतिपय देशहरुले आफ्नो देशमा लकडाउन नै गरिसकेका छन्। नेपालमा फेरी जोखिम हुने सम्भावना देखिएको छ। चैत्र ८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको संक्रमण दर फेरि उकालिन थालेको छ । संक्रमित संख्या झिनो रूपमै बढिरहेको भए पनि यसप्रति सबै सचेत रहनुपर्छ । समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु नहोला भन्न सकिन्न ।

त्यसैले हामी सबै सचेत हुन आवश्यक छ । ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने । खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने । भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने । बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ।

[sidebar name="button post"]