गैँडा गणना चैत ९ देखि

२५ फागुन, चितवन। कोरोना सङ्क्रमणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । देशभरका चारवटा निकुञ्जमा गैँडा छन् । चितवन र पर्सामा एकै साथ गैँडा गणना गरिँदै छ भने बर्दिया र शुक्लामा फरक फरक समयमा गणना थालिनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो चरणमा चितवन ब्लकअन्तर्गत राखिएको पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गणना शुरु गर्न लागेको हो । विभागका सूचना अधिकारी पर्यावरणविद् हरिभद्र आचार्यका अनुसार चितवन र पर्सासँगै गणना गरिने छ । यसै बीचमा चैत १७ गतेदेखि बर्दियामा र १९ गतेदेखि शुक्लाफाँटामा गणना शुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारै निकुञ्जमा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेबाट गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । गणना गर्नुअघि चैत ५ देखि ७ गतेसम्म गणक, माउतेलगायत कर्मचारीलाई तालीम दिइँदै छ ।

गणनामा दुई सयबढी कर्मचारी परिचालन हुने छन् जसमध्ये १५० हाराहारी चितवन ब्लकमा परिचालन हुनेछन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जलाई चितवन ब्लकमा राखिएको छ । यस क्षेत्रमा गणनामा ४० हात्ती परिचालन गरिनेछ । बर्दिया र शुक्लाफाँटामा भने सात÷आठवटा हात्ती परिचालन गरे पुग्नेछ । दुई वर्षअघि गैँडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भर पर्दा बजेट अभावमा गणना हुन सकेको थिएन ।

सरकारले गत वर्ष गैँडा गणनाका लागि रु एक करोड १० लाख विनियोजन गरेको थियो । आचार्यका अनुसार गत वर्ष केही सामग्री खरीद भएकाले यस वर्ष सरकारले रु ८० लाख विनियोजन गरेको छ । दाताहरुबाट रु २५ लाख हाराहारी सहयोग हुने उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायत सङ्घसंस्थाको सहयोगमा गणना गरिँदैछ । हरेक ५ वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गणना गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकहरूले एक–एक गरी गैँडा गन्नेछन् ।

गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायतको प्रयोग गरिन्छ । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक ५–५ वर्षमा उक्त गणना गरिँदै आएको थियो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने बरालले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढी छ । गणनापछि ती गैँडालाई बासस्थान व्यवस्थापन गरी पूर्वमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भइरहेको बरालले बताउनुभयो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६०५ थिए ।

सरकारले पहिलोपटक सन् १९९४ मा गैँडा गणना गरेको थियो । त्यसपछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गणना भएको अधिकारीले जानकारी दिनुभयो ।
राजश्वको छुट सुविधा फागुनसम्म

आन्तरिरक राजश्व कार्यालय भरतपुरले आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा लिन सेवाग्राहीलाई अनुरोध गरेको छ । आर्थिक ऐनले दर्ता भएर विवरण नबुझाएका र दर्ता नभएका करदातालाई फागुन मसान्तसम्ममा दर्ता गरेर कर बुझाएमा विशेष छुटको व्यवस्था गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा कुनै व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आयआर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को आय विवरण र कर बुझाएमा त्यसअघिका वर्षहरुको कर, शुल्क तथा ब्याज मिनाहा हुने जनाइएको छ ।

यस्तै लेखा नं लिएर विवरण पेश नगरेका वार्षिक रु ५० लाखसम्म कारोवार गर्ने व्यक्तिले गएका तीन आर्थिक वर्षको आय विवरण, आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशत बुझाएमा त्यसअघिका वर्षहरुको आय विवरण पेश गर्नु नपर्ने सूचनामा उल्लेख छ ।

स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७३÷७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक रु ५० लाखभन्दा माथि कारोवार गर्ने व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुन आउने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुने कार्यालयले जनाएको छ ।

विसं २०७५ साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने कर दाताले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुन आउने रकम बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने छ ।

आयकर ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२ र अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७५ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारणउपर मुद्दामा गई विचाराधीन रहेकामा सम्बन्धित करदाताले मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको कर रकम र सोमा लागेको ब्याज बुझाएमा शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा हुने कार्यालयको सूचनामा उल्लेख छ । कार्यालयले झुट्टा तथा नक्कली बिजक सम्बन्धमा भएको कर निर्धारणमा भने छुट नपाइने जनाएको छ ।

कार्यालयका प्रमुख घनश्याम पन्थीले कर तिर्न बाँकी रहेका करदाताहरुलाई राम्रो अवसर रहेको भन्दै यसको उपयोग गर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यालयले आर्थिक ऐन २०७७ ले गरेको छुट तथा सुविधाका बारेमा जानकारी दिन जिल्लामा १६ वटा कार्यक्रम गरिसकेको छ । जिल्लादेखि स्थानीयस्तरका उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, वस्तुगत सङ्घहरु, लेखा परीक्षक, कर सहयोगीलगायतको उपस्थितिमा कार्यक्रमहरु गरिएको उहाँको भनाइ छ ।

जिल्लामा दर्ता भएर विवरण नबुझाउने दुई हजार ८०० र आयकरतर्फका ६ हजार ५०० भन्दा बढी करदाता यसबाट प्रत्यक्ष लाभान्वित हुने उहाँको भनाइ छ । कार्यालयमा माघ मसान्तसम्ममा व्यक्तिगत लेखा नम्बर लिनेको सङ्ख्या ८७ हजार २३ छ ।

मूल्यअभिवृद्धि करतर्फ नौ हजार ५१८, आयकरतर्फ ५४ हजार ५८० र अग्रिम करकट्टीका लागि (डब्लु प्यान) तर्फ १५४ करदाता छन् । कार्यालयले यस वर्ष रु १८ अर्ब ९१ करोड राजश्व उठाउने लक्ष्य लिएको छ । माघ मसान्तसम्ममा रु आठ अर्ब ६६ करोड राजश्व सङ्कलन गरेको छ ।

[sidebar name="button post"]