९ फागुन, काठमाण्डौ। मन्दिर नछिर्ने तर शालीनदी क्षेत्रमा आउने भक्तजनलाई भने समितिले माइकिङ गरेर मास्क लगाउन आह्वान गर्दै आएको छ । शालीनदीमा एकमहिने माधवनारायण मेलाका कारण साँखु, पालुवारी, जहरसिंपौवालगायत स्थानमा उपत्यकाका विभिन्न स्थानबाट चल्ने सार्वजनिक यातायात भीड हुने गरेको छ ।
बेलुकी भने ६ बजेपछि नै रत्नपार्क, सातदोबाटो, नयाँबानेश्वरलगायत स्थानबाट साँखु जाने बस नपाइने गरेको यात्रुको गुनासो छ । यसबाट बेलुका साँखु गएर बिहान शालीनदीमा स्नान एवं माधवनारायण पूजा आराधना गरेर फर्कन चाहने भक्तजन प्रभावित भएका छन् ।
दिनभर राजधानीको मुख्य भागमा काम गरेर घर फर्कने यात्रु पनि प्रभावित हुने गरेको स्थानीयवासी कृष्णमाया श्रेष्ठको गुनासो छ । केही सार्वजनिक यातायातले मेलाको मौका छोपी बढी भाडा लिन थालेको पनि यात्रुको दुःखेसो छ । यसअघि साँखु मार्गमा नदेखिएका सवारीले अहिले बढी भाडा लिन थाले पनि सरोकार भएका निकायले अनुगमन नगरेको यात्रुको भनाइ छ ।
साँखु बस व्यवसायी कम्पनीका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ साँखुबाट फर्कनेका लागि बेलुकी ७ बजेसम्म सवारीको व्यवस्था गरे पनि रत्नपार्क, सातदोबाटो, बानेश्वरलगायत स्थानबाट बेलुकी साँखु फर्कने सवारीलाई नियमित गर्न नसकिएको स्वीकार्नु हुन्छ ।












