२५ पुष, झापा । मेचीनगर नगरपालिका–९ की २८ वर्षीया सिर्जना कट्टेलले आफूले पाएको सुरक्षा भत्ता समाज सुधार अपाङ्ग सहयोग समिति इँटाभट्टालाई शुक्रबार हस्तान्तरण गर्नुभएको छ । उहाँले आफ्ना स्व हजुरबुबा, हजुरआमा डिल्लीराम कट्टेल र कौशिलादेवी कट्टेलको स्मृतिमा आफूले पाएको १३ महिनाको सामाजिक सुरक्षा भत्ताबापतको रकम समितिका अध्यक्ष धर्मराज घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।
उहाँले सो रकम शारीरिकरुपमा अपाङ्गता भएका बालबालिकाको पालनपोषण र शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले समितिले स्थापना गरेको अक्षयकोषमा जम्मा गर्न आग्रह गर्नुभएको छ । आफूले पाएको सुरक्षा भत्ताबापतको सबै रकम यसरी सामाजिकरुपमै खर्च गर्ने उहाँको भनाइ छ ।
“आर्थिकरुपमा विपन्न र अशक्तलाई भविष्यमा पनि सहयोग गर्छु”, उहाँले भन्नुभयो । उहाँले आफू ‘ग’ वर्गको अपाङ्गता भएकाले सरकारबाट सुरक्षा भत्ताबापत मासिक रु एक हजार ६०० पाउँदै आएको बताउनुभयो ।











