Ad #144479

२३ पुष, काठमाडौं । नेपाल प्रहरीमा बढुवा भएका ९ जना प्रहरी नायब महानिरीक्षक “डीआईजी”ले दर्ज्यानी चिह्न लगाएका छन् । केही दिनअघि एसएसपीबाट डीआईजीमा बढुवा भएका ९ जनालाई आईजीपी शैलेस थापा क्षेत्रीले दज्र्यानी चिन्ह लगाई दिएका हुन् ।

बढुवा भएकामध्ये रामकृपाल शाहले साइबर ब्युरोको इन्चार्जको जिम्मेवारी पाएका छन् । महानगरीय प्रहरी कार्यालयमा उमेश रञ्जितकार, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डा। देवबहादुर बोहरा, प्रहरी महानिरीक्षकको सचिवालयमा प्रकाश अधिकारीलाई खटाइएको छ । अधिकारीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

यस्तै योजना, अन्वेषण तथा विकास निर्देशनालयमा मुकुन्द आचार्य, प्रदेश समन्वय निर्देशनालयमा गणेश ऐरको पदस्थापन भएको छ । त्यस्तै, दिवेश लोहनी र राजेशलाल कर्णको कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ । पुरुषोत्तम कँडेलको प्रशासन तथा मानव स्रोत विकास विभागमा पदस्थापन भएको छ ।

दर्ज्यानी चिह्न लगाउने कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिएका छन् ।

यसअघि प्रहरी प्रधान कार्यालयले दुई दिनअघि मात्र ३० जना प्रहरी उपरीक्षक एसपी र ६९ जना प्रहरी नायव उपरीक्षक अर्थात डीएसपीहरुको सरुवा गरेको थियो ।