२३ पुष, काठमाडौं । नेपालमै अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना चिनियाँ नागरिक काठमाडौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई छन् ।
उनीहरुसँगै पक्राउ परेका थप दुई जनामा सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा पनि हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो ।
उनीहरुले १९ कात्तिकमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेका थिए ।जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुलाई बुधबार ठमेलबाट पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको छ ।












