Ad #144479

घरको पूजाकोठामा हेरौं वा मठ-मन्दिरमा पुगौं हामीले मुठाका मुठा धुप बालेको देख्छौं । के धुप बालेर भगवान प्रशन्न होलान् ? वा यसको अरु कुनै फाइदा होला ?

धुप किन बालिन्छ ? धुप बाल्ने गरेता पनि सायद तपाईंले यसको अर्थ खोज्नुभएको छैन । धुप बाल्नुपर्छ भन्ने मात्र लाग्छ । त्यसैले बिहान-साँझ पूजापाठ गर्दा धुप बाल्नुहुन्छ ।

तपाईंले धुप किन बाल्नुभएको छ ? एकपटक आफैलाई प्रश्न गर्नुहोस् त । भगवानलाई प्रफुल्ल बनाउन वा पूजाआजाको विधी पुरा गर्न ?

खासमा धुप बाल्नु फाइदाजनक छ । तर अहिले हामीले जुन धुप प्रयोग गर्छौं, अर्थात तयारी धुप त्यो चाहि फाइदाजनक छैन । फाइदाजनक मात्र नभएको होइन, हानिकारक नै छ । भनिन्छ, चुरोटको सर्को तान्नुभन्दा तयारी अवस्थाका सुगन्धित धुप बाल्नु बढी घातक हुन्छ । जसले खासगरी फोक्सो अर्थात श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउँछ ।

धुप बाल्दा कस्तो धुप बाल्ने त ?

खासमा धुप बाल्नुको अर्थ र महत्व छ । तर त्यस्तो धुप बनस्पतिको पात तथा बोक्राबाट तयार भएको हुनुपर्छ । उच्च लेकाली भेगमा कोणधारी बनस्पति धुपीलगायत कतिपय वनस्पति हुन्छन्, जसको प्राकृतिक सुगन्ध हुन्छ । साथै यसमा औषधिय गुण पनि ।

यसबाट आउने धुँवाले पर्यावरण र स्वास्थ्य दुबैमा फाइदा गर्छ भनिन्छ । वायुमण्डलमा भएको दुषित किटाणु मार्न यस किसिमको धुपको प्रयोग गरेको पाइन्छ । यो वायुलाई शुद्धिकरण गर्ने विधी पनि हो । घरमा विहान धुप बाल्दा त्यसको धुवाले हानिकारक जीवाणु नष्ट गर्छ र वायु शुद्ध गर्छ भन्ने विश्वास छ ।

प्राकृतिक वनस्पतिको धुपले हाम्रो स्नायु प्रणालीमा प्रभाव पार्छ । अरोमा थेरापी यसकै एक स्वरुप हो । सुगन्धको माध्यामबाट गरिने यो उपचार पद्धती सदियौं पुरानो हो । अहिले पनि यसको लोकप्रियता उस्तै छ ।

वनस्पतिको प्राकृतिक धुप

बजारमा उपलब्ध हुने सिन्के धुप अर्थात जो तयारी अवस्थाको धुप उपयोगी हुँदैन । त्यस्ता धुप बालेर आफ्नो मनोकामना पुरा हुँदैन । भगवान खुसी पनि हुँदैन । बरु यसले तपाईंको स्वास्थ्यमा हानी गर्छ ।साथै त्यो भन्दा पनि धेरै त पर्यावरणमा असर गर्छ । त्यसैले प्राकृतिक रुपमा तयार गरिएको वनस्पतिको धुप बाल्नु उपयोगी हुन्छ।

तयारी धुप कति हानिकारक छ ?

अध्ययनले तयारी धुपको धुवाँलाई चुरोटको धुवासँग तुलना गरेका छन् । त्यस्तै यसको धुवाँले चुरोटको धुवा बढी बिषालु हुने शोधमा पाइयो । यस किसिमको धुवामा लामो समय बस्दा वा नियमित रुपमा धूपको धुवा सेवन गर्दा हाम्रो शरीरको डिएनएमा त्यस्तो केहि परिवर्तन गर्छ, जो क्यान्सरको कारण बन्न सक्छ ।

अगरबत्तीको धूँवाले के असर गर्छ ?

१. दमको खतरा बढ्छ साथै अगरबत्तीको धूँवाले फोक्सोमा चुरोटले जतिनै असर गर्छ ।

२. धूप बालेको स्थानमा धेरै लामो समयसम्म वा नियमित बस्ने हो भने यसले छालाको संक्रमण समेत हुनसक्छ ।

३. अगरबत्तीको धूँवाले मस्तिष्कसँग जोडिएको नसालाई प्रभावित गर्छ । जसले गर्दा टाउको दुख्ने समस्या पनि निम्तन सक्छ ।

४. कति अगरबत्तीको ब्रान्डमा आइरन, म्याग्नेसियम र सिसाको मात्रा अत्याधिक हुन्छ । हाम्रो मृगौलाको काम शरीरको विषाक्त पदार्थलाई पिसाबको माध्याबाट बाहिर निकाल्ने हो । धूँवाको माध्यामबाट पस्ने विषाक्त तत्वले मृगौलालाई थप बोझिलो बनाउँछ ।