समिता श्रेष्ठ
रेडियो कान्तिपुरमा सुनी रहने आवाज मध्ये एउटा चर्चित आवाज राजेश पाण्डेको पनि हो । उहाँले आफ्नो आवाजका माध्यमबाट श्रोताहरुको मन जित्न थाल्नु भएको १५ वर्ष भैसकेको छ । त्यसको साथसाथै उहाँले संचारका लागि निर्धक्क बोल्न र मनका कुरा खोल्न कसरी सकिन्छ भनेर प्रशिक्षण पनि दिनुहुन्छ ।
महोत्तरीदेखि काठमाण्डौ
पाण्डे २०३७ साल माघ २१ गते महोत्तरीमा जन्मिनुभएको हो । उहाँको परिवारमा १० जना सदस्य हुनुहुन्छ । बाल्यकाल विभिन्न ठाउँमा बित्यो । उहाँका बुबा नेपाल बैंकमा काम गर्नुहुन्थ्यो । पाण्डे अहिले काठमाण्डौको काडाँघारी पेप्सिकोलामा बस्नुहुन्छ । उहाँले काठमाण्डौ बसेर काम गर्न थालेको २२/२३ वर्ष भैसक्यो ।
‘मेरो बाल्यकाल एकदमै रमाइलो तरिकाले बित्यो । रुचीको विषय ठ्याक्कै यहि भन्ने थिएन । अहिले संचार क्षेत्रमा छु ।’ उहाँ भन्नुहुन्छ,‘बाल्यकालदेखि नै पढाईमा राम्रो भएको कारण सबैले मलाई डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्नुहुन्थ्यो ।
बुबाको सपना पनि डाक्टर बनाउने नै थियो र आफन्त परिवारका सबै सदस्यलाई डाक्टर नै बन्छ भन्ने लाग्थ्यो । मैले प्लस टु अमृत साइन्स कलेजमा साइन्स बिषय नै अध्ययन गरेको हो । रुचीले होईन अरुले भनेर साइन्स पढेको जस्तो लाग्छ ।’
एफएम र रेडियो नाटकमा आवद्ध
अहिलेको प्लस टु लाई त्यतिबेला इन्टरमिडियट भनिन्थ्यो । इन्टरमिडियटको सेकेन्ड इयरमा पुगिसकेपछि काठमाण्डौमा एफएम रेडियोको एकदमै चर्चा थियो । कलेजमा जे विषयमा बढि चर्चा हुन्थ्यो, त्यसैमा रुचि हुने गथ्र्यो । कलेजमा सबैले एफएम रेडियो सुन्ने गर्थे । पाण्डे भन्नुहुन्छ,‘ अरु जस्तै म पनि एफएम रेडियो धेरै नै सुन्ने गर्थे । एफएम रेडियो सुन्दासुन्दै मेरो मनमा पनि कति खेर म पनि रेडियोमा बोलु जस्तै लाग्न थाल्यो । जब प्लस टु (इन्टरमिडियट) सके अनि संचार सम्बन्धि तालिम लिएँ । त्यति बेला म १८ बर्षको थिएँ ।’
सञ्चारको तालिमपछि आरुबारी बौद्ध तिनचुलिमा रहेको एचबीसी एफएममा अवसर पाएको उहाँ बताउनुहुन्छ । रेडियो नेपालमा प्रहरी कार्यक्रम संचालन गर्ने सुमित्रा खड्काले गर्नुभएको सहयोग उहाँले सम्झनुहुन्छ । यो २०५९ साल भदौ ४ गतेको कुरा हो । ‘त्यसबेला एउटा टिम थियो । त्यो टिममा म र अहिलेको चर्चित कलाकार माग्ने बुढा, सुमित्रा खड्का, रुपेश सिलवाल, अनिता परियार, रमा थापा, कन्चन जोशी हुनुहुन्थ्यो ।’ पाण्डे भन्नुहुन्छ,‘त्यो टिममा मैले रेडियो नाटकमा आफ्नो आवाज दिने मौका पाएँ। ६ महिना निरन्तर काम गरेपछि टिमको सहकार्य टुट्यो ।’
केहि समयपछि पाण्डे फेरी एचबीसीमा आवद्ध हुनुभयो । त्यसबेला एचबीसीमा कार्यक्रम संयोजक चर्चित रेडियोकर्मी अच्युत घिमिरे हुनुहुन्थ्यो । तर केही समयपछि विभिन्न कारणले एचबीसी एफएम ९४ मेगाहर्ज नै बन्द भयो ।
कान्तिपुर एफएममा यात्रा सुरु
एचबीसीमा आवद्ध हुँदै गर्दा पनि पढाईलाई निरन्तरता दिएका पाण्डे एचबीसी बन्द भएपछि बेरोजगार बन्नुभयो । त्यो बेला उहाँ मास्टर्स गर्दै हुनुहुन्थ्यो । २०६२/६३ तिर उहाँको मास्टर्सको अन्तिम परीक्षा थियो । मास्टर्स पूरा गरेपछी कान्तिपुर एफएममा विज्ञापन खुलेको बेला उहाँले दरखास्त दिनुभयो । दरखास्त दिनेमध्येबाट १३ जना छानिए, त्यसमध्ये उहाँ पनि पर्नुभयो । ‘अहिले ३/४ जना मात्रै काममा निरन्तर छन् ।’
पाण्डे भन्नुहुन्छ,‘स्नातक पढ्दै गर्दा एचबीसीमा काम गरें । स्नातकोत्तर सकेर कान्तिपुरमा छिरेको हो । अहिले मैले कान्तिपुरमा काम गरेको १२ वर्ष चलिरहेको छ ।’ उहाँले अङ्ग्रेजी साहित्य र आमसंचार दुई वटा बिषयमा स्नातकोत्तर गर्नुभएको छ ।
उत्साह
त्यो बेला एफएम रेडियोमा निक्कै कार्यक्रम बज्थे । त्यसैबाट उत्साह र हौसला बढेको पाण्डे बताउनुहुन्छ । यो बाह्र वर्षको अबधिसम्म आउँदा कान्तिपुर एफएममा भिन्न भिन्न नामको १२÷१३ वटा कार्यक्रम चलाउनुभयो । तीमध्ये श्रोताले धेरै मन पराएका कार्यक्रममा के एफ ए बिजनेस अफेयर्स (बैंकिङ सम्बन्धि), सञ्चै हुनुहुन्छ (बिदेशमा बस्नु हुने नेपालीसँग कुराकानी गर्ने) टक द टक, अचिभर्स क्लब (सफल व्यक्तित्वसँग अन्तरंग कुराकानी), सफर आदि पर्छन् । श्रोताको मायाले नै एउटै कार्यक्रम पनि ८/९ वर्षसम्म चलेको पाण्डे बताउनुहुन्छ ।
संचारमा आवद्ध र नयाँ पुस्तालाई सुझाव
व्यवसायिक रूपमा नै सञ्चारमा आवद्ध पाण्डेको यो क्षेत्रमा लामो अनुभव छ । उहाँले अहिले रेडियो कान्तिपुरमा सिनियर प्रोग्राम प्रिजेन्टर र प्रडुसरको रुपमा काम गर्नुहुन्छ । उहाँको आफ्नै पब्लिक स्पिकिङ एकेडेमी पनि छ । यो एकेडेमी काठमाण्डौको नयाँ बानेश्वरमा छ । ‘यो क्षेत्रमा लाग्न चाहनेले सबैभन्दा पहिला साच्चै नै यो क्षेत्रमा लाग्न चाहेको हो त ? जिवनभरको लागि लाग्न चाहेको हो त भने कुरा फाईनल हुनु आवश्यक छ ।’
पाण्डेको सुझाव छ,‘एक महिना/दुई महिना कतै जानको लागि, चिट्ठीको लागि, साथीभाईलाई फुर्ति लगाउनको लागि, मिडियामा लाग्यो भने व्यक्तित्व विकास हुन्छ जस्ता सोंचले मात्रै लाग्ने हो भने यो क्षेत्रमा नलागेकै राम्रो दुख पाइन्छ । तर जिवनभरको लागि कुनै पनि हालतमा यो क्षेत्रमा लाग्छु र टिकिरहन्छु भन्ने हो भने यो क्षेत्रमा प्रवेश गरेको राम्रो हुन्छ । तर मिडियामा लाग्ने हो भने मिडियाका लागि चाहिने हातहतियार सहित लाग्नुपर्छ ।’
सबैभन्दा पहिला आमसञ्चारबारे पढ्न र बुझ्न पनि उहाँको सल्लाह छ । यो पेशामा एकचोटि आवद्ध भएर करियर बन्यो भन्ने हुँदैन । सरकारी जागिर जस्तो एकचोटि जोइन गरेपछी २८/३० वर्षसम्म जागीर पक्का हुने पनि होइन । आफुलाई अपडेट राखी राख्नुपर्छ । ‘पहिला जस्तो सिमित र साँधुरो क्षेत्र छैन’ उहाँ भन्नुहुन्छ,‘अहिले मिडिया र अवसर दुबै छ ।
रेडियो, टेलिभिजन वा पत्रपत्रिका खोज्दै पनि हिँड्नुपर्दैन । अहिले आफ्नो न्युज साईड, यूट्युव च्यानल समेत बनाउन मिल्छ । आफैसँग क्षमता छ भने देखाउने धेरै माध्यमहरु छन् । तर त्यो सबै कुराको लागि योग्य, आवश्यक उपकरण, काम गर्ने चाहना र आत्मविश्वास आवश्यक छ ।’ पाण्डे भन्नुहुन्छ,‘मैले यदि धेरै काम गरिसक्दा पनि म आफुलाई अहिले पनि नयाँ नयाँ जस्तो लाग्छ ।
सञ्चार र भोगाई
पाण्डे आफूलाई एकदमै भाग्यमानी सञ्चारकर्मी भन्नुहुन्छ । ‘एउटा रेडियो जर्नालिष्ट अर्थात् आरजे हुनका लागि सबैभन्दा मुख्य कुरा श्रोताले सुन्दा कान नबिझाउने आवाज हुनुपर्यो । दोस्रो कस्तो खालको कार्यक्रम गर्ने हो । त्यो विषयमा ज्ञान हुनुपर्यो । सधैं सिकिरहने बानी हुनुपर्यो । अनि श्रोता, समाजको मनोविज्ञान बुझ्न सक्ने क्षमता हुनुपर्यो । त्यस्तै देशमा आजको दिनमा के भैरहेको छ ? अपडेट पनि हुनुपर्यो ।’ पाण्डे थप्नुहुन्छ,‘अनि सबैभन्दा मुख्य कुरा लगाव हुनुपर्छ । त्यो सबैकुरा छ भने सञ्चारकर्ममा टिकिराख्न सहज हुन्छ ।’
उहाँले भनेजस्तै रेडियोमा बोलेर मात्रै वा टेलिभिजनमा देखिएर मात्रै वा पत्रपत्रिकामा लेखेर मात्रै जीवन चलाउन भने एकदमै गाह्रो छ । त्यसको साथसाथै अरु काम पनि गर्न सके अझ सहज हुन्छ । ‘जब म कुनै कुराले वाक्क भएको हुन्छु तब रेडियोको स्टुडियोमा गएर हेडफोन लगाएर बोल्दा फ्रेस हुने गर्छु ।’
उहाँ भन्नुहुन्छ,‘त्यसैले मेरो लागि यो पेशा ध्यान, पूजा र त्याग सबै हो ।’ आफ्नो जीवनमा सुरुमा रेडियोमा बोल्दाको क्षण बिर्सनै नसक्ने क्षण रहेको र आजको दिन सम्म पनि यहि पेशामा निरन्तर रहेको उहाँ बताउनुहुन्छ । अनि भन्नुहुन्छ,‘अहिले पनि खुल्ला आकाशमा उड्ने चरी जस्तै छु ।’












