Ad #144479

समिता श्रेष्ठ

मानिसलाई अनुशासन सँगै असल काम र सहि बाटो देखाउने सर्बोत्कृष्ठ माध्यम शिक्षा हो । शिक्षा लिन पाउनु सबैको अधिकार हो । यहि भावनाबाट प्रेरित व्यक्तित्व मध्येका एक शैलेन्द्र कुईंकेल हुनुहुन्छ । उहाँ पेशाले शिक्षक हुनुहुन्छ । उहाँले शिक्षण पेशा अपनाउनु भएको २७ वर्ष भैसकेको छ ।

अहिले उहाँ काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ मा रहेको कान्तिपुर क्याम्पसको क्याम्पस प्रमुख हुनुहुन्छ । उहाँले बिगत ७ वर्षदेखि बिना पारिश्रमिक कान्तिपुर क्याम्पसमा प्रमुखको रुपमा काम गर्दै आउनु भएको छ । कसैले पनि आर्थिक अभावकै कारण शिक्षाबाट बन्चित हुनु नपरोस् भन्ने उहाँको इच्छा छ ।

पारिवारीक अवस्था

कुईंकेलको जन्म २०२२ सालमा काठमाण्डौको डाँछी गाउँ बिकास समिति वडा नम्बर ३ मा भएको हो । परिवारमा उहाँको आमा ,श्रीमती र दुई छोरा गरि ५ जना हुनुहुन्छ । उहाँले आफ्नो बाल्यकाल खेती, किसानी र गोठाला गरी बिताउनुभयो । पढ्न पनि मेहनत गर्नुभयो । उहाँको बाल्यकालदेखि काममा परिश्रम र लगनशील भएर लाग्ने अनि आफुले सुरुवात गरेको काम पुरा गरेर छोड्ने स्वभाव थियो । उहाँले व्यवस्थापन बिषयमा एम बी ए गर्नुभएको छ ।

कुईंकेलले २०५० सालमा कान्तिपुर क्याम्पसमा आवद्ध भएर शिक्षकको रुपमा काम थाल्नुभएको हो । कामप्रतिको लगनशीलता र अनुभवकै कारण उहाँ २०६८ सालमा क्याम्पस प्रमुख पदमा नियुक्त हुनुभयो । अहिले उहाँ बिना पारिश्रमिक क्याम्पस प्रमुखको रुपमा काम गर्नुहुन्छ ।

कुईंकेल भन्नुहुन्छ,‘शिक्षण पेशा मेरो रुचिको पेशा हो । मैले आर्जन गरेको शिक्षा बाँढ्ने उदेश्य छ । मैले शिक्षण पेशा आफ्नो रुचिले अपनाएको भएपनि प्रमुखको जिम्मेवारी र दायित्व भने व्यवस्थापन समितिले छनोट गरी दिएको हो ।’

क्याम्पसलाई उत्कृष्ट बनाउने दायित्व

क्याम्पस प्रमुखका रुपमा कुईंकेलको दायित्व क्याम्पसलाई उत्कृष्ट बनाउने र विद्यार्थीहरुलाई असल शिक्षा र नैतिक तथा क्षमतावान् बनाउने नै रहेको छ । ‘क्याम्पसमा क्याम्पस प्रमुख भएपछि क्याम्पसलाई अझै माथी कसरी उठाउन सकिन्छ भनेर सोंच्नु मेरो जिम्मेवारी र दायित्व हो । त्यसै अनुरुप मैले काम गर्दै जाँदा भुकम्प आदि इत्यादि समस्याहरु क्याम्पसमा आयो ।

सबै क्याम्पसको कर्मचारीहरुलाई तबल वितरण गर्दा आफुलाई नपुग्ने पनि भयो’ उहाँ भन्नुहुन्छ,‘त्यसकारण आफ्नो पारिश्रमिक लिन छोडेको हुँ । प्रमुख भएको दुई वर्षसम्म पढाउने र पारिश्रमिक लिने गर्थे । तर २०७० सालदेखि क्लास लिएको छैन र भत्ता पनि लिएको छैन ।’

बिजनेस अर्गनाइजेसन, खेती र पशुपालनबाट घरखर्च चलाउँदै

कुईंकेल कान्तिपुर क्याम्पसमा प्रमुख रहेपनि उहाँका अरु पनि क्षेत्र छन् । काठमाण्डौको टेकुमा रहेको प्राइभेट बिजनेस अर्गनाइजेसनमा काम गर्नुहुन्छ । त्यहाँबाट उहाँलाई पारिश्रमिक र सुबिधा प्राप्त छ । उहाँ भन्नुहुन्छ,‘यो अर्गनाइजेसनबाट दुई छोरालाई पढाउनको लागि पुग्छ । खेतीबाट खान पुग्छ । गाई पनि पालेको छु । गाई घरमै दुध खान मात्र पालेको छु ।’

समय सापेक्ष रुपमा कलेजलाई अगाडि बढाउन मुख्य ध्यान केन्द्रित गरेको उहाँ बताउनुहुन्छ । ‘अहिले कान्तिपुर क्याम्पसमा भवन छ, त्यो हाम्रो लगनशीलतामा बनाएको भवन हो । कोरोनाको प्रभावले अरु क्षेत्रमा जस्तै कान्तिपुर क्याम्पसमा पनि प्रभाव परेको छ ।’

उहाँ भन्नुहुन्छ,‘यसको लागि म्यानेजमेन्ट र मार्केटिङको काम गर्दैछु । यो क्याम्पसलाई अझै उत्कृष्ट बनाउने हिसाबले आफुले सक्ने सबै प्रयत्न गरेको छु । यसका लागि हाम्रो कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखसँग पनि कुरा राखेको छु ।’

उत्कृष्ट पेशा मध्येको एक तर लगनशीलताको आवश्यकता

विभिन्न पेशाहरु मध्येको उत्कृष्ट र उत्तम पेशा मध्ये शिक्षण पेशा पनि एक हो । यो पेशामा लाग्न चाहने जो कोहिले पनि अध्ययन, इमानदारीता र लगनशील भएर काम गर्नुपर्छ । अनि मात्र भविष्य देख्न सकिन्छ । ‘आफ्नो पेशामा लगनशीलता अनिवार्य छ । हामी जुन काम गर्दा पनि लगनशील भएर लाग्यौं भने सफल हुन सक्छौं ।

त्यस्तै शिक्षण पेशामा पनि रुचिका साथ लगनशील भएर लाग्यौ भने घरखर्च चलाउन र सम्मानित रुपमा बाँच्न सकिन्छ ।’ उहाँ भन्नुहुन्छ,‘अझै पनि मैले क्याम्पसको लागि गर्नु पर्ने कामहरु धेरै नै छन् । समयले साथ दियो भने त्यो सबै कामहरू पूरा गर्नेछु । अहिले हाम्रो क्याम्पसमा उच्च माध्यमिक तहमा ११ र १२ सम्म पढाई हुन्छ ।

विश्व विद्यालय शिक्षा अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीए र बीबीएस को पढाई संचालन गरेका छौँ । हाल झण्डै २५० विद्यार्थीहरु र २५ जना शिक्षक हुनुहुन्छ । क्लासमा ८० प्रतिशत उपस्थित हुने विद्यार्थीको ग्यारेन्टी लिन तयार छु । कागेश्वरी नगरपालिकाको केन्द्रमा रहेको यो क्याम्पसमा कोहि पैसाको कारणले नै पढाईबाट बन्चित रहेको भएपनि अध्ययन गर्न अवसर छ । यसको लागि हाम्रो कलेजले निशुल्क पढाउने व्यवस्था पनि गर्छ ।

शिक्षालाई आम्दानीको स्रोत मात्र नभएर प्रभावकारी गुणस्तरीय शिक्षा प्रवाह गर्ने दायित्व लिनुपर्छ र यो क्याम्पसले त्यसैलाई आत्मसाथ गरेको छ । सबैको लागि शिक्षा भन्ने लक्ष्य र उद्देश्य मुख्य छ ।’