१९ पुष, काठमाडौं । कोरोना भाइरसका कारण बन्द रहेका सबै क्षेत्र अब खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति सीसीएमसी निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो ।
सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको छ । आइतबार सीसीएमसीले गरेको निर्णय अब मन्त्रिपरिषद बैठकले निर्णय गरेपछि अहिले बन्द रहेका विद्यालय लगायत सबै क्षेत्र खुला हुने छन् ।
हालका लागि विद्यालय र मनोरञ्जनका क्षेत्रहरु खोल्न दिने निर्णय भएता पनि कोरोनाको दोस्रो लहरको जोखिम देखिएमा जिल्ला तहबाटै बन्द गर्न सकिने सीसीसीएमसीको निर्णयमा उल्लेख छ ।
लामो समयदेखि विद्यालयहरु सञ्चालनमा नआउँदा लाखौं बालबालिकाहरु अहिलेसम्म विद्यालय जान पाइरहेका थिएनन् । आइतबारको सीसीएमसी बैठकले विद्यालय खोल्न दिने निर्णय गरेता पनि विद्यालयहरु सञ्चालनमा आउन केही दिन लाग्न सक्छ ।












