एजेन्सी । छालामा मुसा आउने समस्या हामी मध्ये धेरैमा हुन सक्छ । मुसालाई अंग्रेजीमा वाट्स भनिन्छ । कसैकसैमा त लामो समय देखिको मुसाले हात, खुट्टा नै कुरूप पनि बनाएको हुन्छ ।
मुसा ह्युमन पेपिलोमा भन्ने भाइरसबाट हुने खटिरा वा विविरा हो । यो बच्चादेखि वृद्धालाई समेत पनि आउन सक्छ । यसलाई समाजमा सामान्य रुपमा लिइन्छ । शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्थासमेत आउने गरेको छ ।
कहिलेकाहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा आइदिन्छ । जसले मानिसलाई कुरूप पनि बनाउँछ ।
कारण
शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन् । कहिलेकाहीँ छालाको रङजस्तो पनि मुसा उम्रने गर्छ ।
लक्षण
मुसा छालाको सतहभन्दा थोरै माथि उठेको हुन्छ । यो गोलाकार, अन्डाकार, च्याप्टो आकारमा देखा पर्छ । र, यो चिल्लो र मुलायम पनि हुन्छ । कतिपय मुसा हल्लिने खालका पनि हुन्छन् । कतिपय मुसा छुँदा दुख्ने, रगत आउने गर्छ । कसैलाई ऐँजेरु पलाएजसरी पनि मुसा आउने गर्छ ।
कसरी छुट्टाउने ?
१. सामान्यतया मुसा हातको पछाडीपट्टी, औंलाहरु, घुंडा, र खुट्टा, पैतालामा देखिन्छ ।
२. छालाको सतहभन्दा माथि उठेको साह्रो र सुख्खा गिर्खाको रुपमा देखा पर्छ ।
३. यो एक वा एकभन्दा बढी मात्रामा पनि देखिन सक्छ ।
४. थोरै कोतार्दा सेतो पत्र निस्कन सक्छ र जमेको रगतका शिराको कालो धब्बा देखिन सक्छ |











