Ad #144479

१९ पुष, काठमाडौं । सत्तारुढ नेकपा विभाजन भएपछि आ आफ्नो आधिकारिकता दाबी गरेका दुवै समूहलाई निर्वाचन आयोगले छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको हो ।

पत्रमा प्रचण्डलाई सात दिने म्याद दिइएको छ भने केपी ओलीलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको हो ।

आयोगले प्रचण्डलाई पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद –९ अनुसार कारबाही गर्न सकिने जानकारी गराएको छ । र, प्रक्रिया प्रारम्भ गर्ने सम्बन्धमा ७ दिनभित्र आयोगलाई जवाफ दिएर सहयोग गर्न भनेको छ ।

ओलीलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगको निर्णय भएको उल्लेख मात्र गरिएको छ । ओलीलाई प्रचण्डलाई जसरी सात दिनभित्र जवाफ दिन भनिएको छैन ।

निर्वाचन आयोगका अनुसार यसअघि पठाएको पत्रमा प्रचण्ड पक्षले बहुमत आफूसँग रहेकाले नाम झण्डा र चुनाव चिन्ह आफ्नो भएको दाबी गरेको छ । तर, ओली पक्षले भने त्यस्तो दाबी नगरी केन्द्रीय समिति विस्तार र विधान संशोधनबारे मात्रै आयोगलाई जानकारी गराएको आयोगको भनाइ छ । दुवैका कागजात र दस्तावेज हेरेर नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने तयारी आयोगको छ ।