१९ पुष, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट नदिएको राजीनामा स्वीकृत भएको छ ।
गत मंसिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती जानकारी दिए । अध्यक्षको क्रियाकलाप लगायतका कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको बताइएको छ ।
तर यता उपाध्यक्ष विष्टले आफूले राजीनामा नै नदिएको बताएकी छन् । राजीनामा दिएको भन्नु भ्रमपूर्ण छ, यसमा सत्यता छैन, उनले भनिन् ।
उप्रेती र बिष्ट दुवै पूर्वएमालेबाट निर्वाचित हुन् । उपाध्यक्ष विष्टले कर्मचारी हाबी भएको, सुशासन कायम हुन नसकेको भन्ने गुनासो गर्दै आएकी थिइन् । त्यसैबीच उपाध्यक्ष विष्टले मंसिर २९ मा राजीनामा दिएको चर्चा चल्यो ।
पुस १ मा बसेको गाउँ कार्यपालिकाको बैठकले पनि उपाध्यक्ष विष्टले राजीनामा दिएको भन्ने समाचारमा सत्यता नरहेको र भ्रमपूर्ण हल्लाप्रति ध्यानाकर्षण भएको निर्णय गरेको थियो । बैठकको निर्णयपछि पुस २ मा बक्तव्य जारी गरेरै उपाध्यक्ष विष्टको राजीनामाबारे भ्रममा नपर्न आग्रह गरिएको थियो ।












