Ad #144479

१७ पुष, काठमाडौं । नेपाल टेलिकमले एनटी टीभी ब्राण्डमा फाइबर टू दि होम मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याएको छ। हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा शुक्रबारदेखि आईपी टिभी सेवा पनि थप गरेको हो।सो सेवाको शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आईपी टिभी सेवाको उद्घाटन गर्नुभयो।

सो अवसरमा मन्त्री गुरूङ्गले नेपाल टेलिकमको उच्च गुणस्तरको सेवा जनतामा पुर्‍याउने काम सराहनीय रहेको उल्लेख गर्दै टेलिकमका सम्पुर्ण कर्मचारीलाई एक ढिक्का भई अघि बढ्न आग्रह गर्नुभयो । साथै कर्मचारीहरुको एकताले मात्रै जनतामा उच्च कोटीको सेवा सुविधा दिन सक्ने कुरामा उहाँको जोड थियो ।

प्रविधिको तीव्र बिकासमा लागिरहेको हालको अवस्थामा टेलिकमले जनताको सेवाका लागि अगाडि बढाएको कामका लागि सम्बन्धित मन्त्रालय र सरकारले जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त मन्त्री गुरूङ्गले व्यक्त गर्नुभयो ।

कम्पनीको आईपी टीभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाणडौं उपत्यका र बाहिरका एफटीटीएच नेटवर्क पुगिसकेको र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनुभएका ग्राहकवर्गले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्दछ । विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनोट गरी सेवा लिन सक्ने बताएको छ ।