स्कुल खुलेपछि धेरै विद्यार्थीको उत्साह : पढाई निरन्तर, साथिसंगी भेट

गुडिया शाह

कोरोना महामारीपछि बन्द विद्यालय खुल्न थालेका छन् । विद्यालय खुलेपछि केहि चहलपहल थपिँदै छ । विद्यार्थीमा उत्साह र अभिभावकमा आशा जागेको छ । स्कुल खुलेपछि उत्साहित विद्यार्थीको प्रतिक्रिया :

बोदित शाह : मनकामना माध्यमिक विद्यालय, दक्षिणढोका

झन्डै ९ महिनापछि स्कुल खुल्यो । स्कुल जानलाई धेरै उत्सुक भएको छु । निरन्तर पढ्न र धेरै पछि साथीभाई भेट्दा रमाइलो हुन्छ । धेरै पछि स्कुल खुलेर होला आजकल खुब पढ्न मन लागेको छ । घर बसेर अनलाइन क्लास लिदा पनि त्यति फाइदाजनक लागेन किनभने कहिलेकहिँ बत्तिले पनि साथ दिदैंनथ्यो ।

अनलाइन क्लासमा स्कुलको जस्तो नबुझ्ने र नबुझेको सोध्न पनि समस्या थियो । अनलाइन सहज नै भएन । पहिले अनलाइन क्लासमा साथीहरुसंग रमाइलो गर्दै पढ्न पाईंदैनथ्यो तर अहिले साथीहरुसंग आफ्नो मनका कुरा गर्दै दिन बिताउँदा खुब रमाइलो लागिरहेको छ । अहिले स्कुलबाट घर आएर गृहकार्य गर्नुपर्छ । दिन बित्छ ।

शीला आचार्य : आकाशदीप कलेज, नारायणटार

आजकल कलेज जाँदा अनौठो लाग्छ । सबका सब मुखमा मास्क लगाएको देखेर कस्तो नरमाइलो हुने । कलेज गएर पढ्न पाएका छौँ । सधै अनलाइन क्लास लिएको थिएँ । अनलाइन क्लास पनि राम्रै र प्रभावकारी भएजस्तो लाग्छ । त्यति लामो समय अनलाइन क्लासको सुबिधा नभएको भए अहिले पढ्न पनि बिर्सिन्थ्यो होला ।

मृणाल गुरुङ : मोडन इन्डियन स्कुल, किर्तिपुर

धेरै दिनपछि स्कुल जाँदा मलाई त अल्छि पो लागेको छ । किनभने ढिलो उठ्ने बानी भएर ६ बजे उठ्नै जाँगर चलेको छैन । पहिला जस्तो पढ्न पनि मन लागेको छैन । खेलकुदमा मात्रै ध्यान जान्छ । पढाई पढ्न मनै छैन । अनलाइन क्लास ठिकै थियो । धेरै मोबाइल चलाउन पाएँ , गृहकार्य धेरै गर्नु परेन, सर मिसको गाली पनि खानु परेन । अरु त सब ठिक छ ।

स्वस्तिका श्रेष्ठ : जया मल्टिपल क्याम्पस, मकलबारी

कलेज खुलेपछि रमाइलो लागि रहेको छ । साथीहरुसंग भेटघाट गर्न पाउँदा मन धेरै खुसि छ । म गाउँमा भएको कारणले अनलाइन क्लास पनि त्यति लिन पाइन । त्यसैले मलाई त्यति प्रभावकारी भएन । अनलाइन क्लास लिंदा नबुझेको कुरा सजिलै सोध्न पाइदैनथ्यो तर अहिले कलेजमा मन लागेको बेला सोध्न पाएको छु ।

जीवन सापकोटा : चामुण्ड उच्च माध्यमिक विद्यालय, नारायणटार

अहिले स्कुल आउँदा खुसि लागिरहेको छ । अनलाइन क्लास खासै प्रभावकारी लागेन । सबै विद्यार्थीहरुसंग इन्टरनेट, मोवाइल र ल्यापटपको सुविधा पनि थिएन । कोरोना भाइरसले धेरैको चुह्लो बलेन । रोजीरोटि गुम्यो । सबैका अभिभावकलाई पुग्दो थिएन । जसको असर छोराछोरीमा परेको छ । कुनै पनि परिवार, साथीहरु अनलाइन क्लासको मात्र भर पर्नु हँुदैन । त्यसैले म घरमा आफैं गूगल सर्च गरेर पढ्थे । तर अब स्कुल नै रमाइलो लागेको छ ।

[sidebar name="button post"]