१४ पुष, काठमाडौं । कोरोना भाइरस संक्रमित भएर हाल ह्याम्स अस्पताल धुम्वाराहीमा उपचार गराई रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।
गत मंसिर २६ गते कोरोना पोजेटिभ देखिएपछि आफ्नै निवास चण्डोलमा आइसोलेसनमा बसेका सिटौलालाई निमोनियाको लक्षण देखिएपछि पुस ५ गते अस्पताल लगिएको थियो ।
लगातार पाँच दिनसम्म रेमेडिसिभिर औषधि चलाएपछि उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरुले जनाएका सिटौलाका स्वकिय सचिव प्रेम भट्टराईले जनाए । ज्वरो समेत कम भएकाले स्वास्थ्यमा क्रमिक सुभार भए शुक्रबारसम्ममा डिष्चार्ज हुन सक्ने सम्भावना छ ।
अस्पतालको कोभिड वार्डमै सिटौलाको उपचार भइरहेको छ । सिटौलाको अवस्था बारे जानकारी दिन महामन्त्री डा. शशांक कोइराला अस्पताल गएका थिए भने पूर्वराष्ट्रपति डा. रामबरण यादव, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल लगायतले फोनबाटै जानकारी लिएका थिए ।
नेता डा.मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलसहितका नेताले सिटौलाको स्वास्थ्य स्थितिको बारेमा अस्पताल गएरै जानकारी लिइरहेका छन् । सिटौलाको उपचारमा संक्रमण रोग विशेषज्ञ डा. अनुपराज सुवेदी नेतृत्वको चिकित्सक टोली खटिएको छ ।











