Ad #144479

१२ पुष, काठमाडाैं । नेकपाभित्रको आन्तरिक विवाद मिलाउन नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोली बालुवाटार प्रवेश गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली नेपाल भ्रमणका लागि आइतबार दिउँसो काठमाडौं आएको हो ।

काठमाडौं उत्रिए लगत्तै शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको टोली बेलुकी पौने ८ बजे बालुवाटार प्रवेश गरेको हो । बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग विशेष र निर्णायक वार्ता हुने अनुमान छ ।

बालुवाटारमा नेकपा विभाजनको प्रमुख कारण र त्यसको केन्द्रमा रहेका प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीले त्यही अनुसार भेटघाट गर्नेछ ।

पछिल्लो समय ओली सरकारलाई चीनले नजिकबाट सघाइरहेको थियो । र पार्टीमा विवाद हुँदा पनि तत्कालै चिनियाँ दुतावासबाट राजदुत होउ यान्छी सक्रिय भएर विवाद समाधान गर्ने गरेकी थिइन् । तर पछिल्लो समय नेकपा विभाजनमा यान्छीको भूमिकाले काम गर्न सकेन् ।

नेकपा फुटेपछि चीनले प्रचण्ड माधव नेपालको समूहलाई समर्थन गरेको दाबी छ । भारतीय योजनाअनुसार ओलीले नेकपा फुटाउन रणनीति लिएपछि चीनले प्रचण्ड नेपालको समुहको समर्थनमा लागेको दाबी छ । बालुवाटारमा यसबारे निर्णायक छलफल गरेपछि चीनले अब कसलाई समर्थन गर्ने भन्ने टुंगो लाग्नेछ । चिनियाँ टोलीले प्रचण्ड, माधव नेपाल र कृष्णबहादुर महरा लगायतलाई पनि भेट्ने कार्यक्रम छ ।