विदेशमा कोरोनाबाट ४९ हजार भन्दा धेरै नेपाली मुक्त : एनआरएनए

१२ पुष, लण्डन । विदेशमा कोरोना भाइरस ‘कोभिड-१९’ बाट   संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको  छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ‘कोभिड-१९’ को संक्रमणमा परेका मध्ये  ९४ दशमलव ५ प्रतिशत नेपाली  कोरोना भाइरसबाट मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको  स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये  ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति  भएको  छैन । सापकोटाका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण निधन  भएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५७ हजार ७ सय छ भने  २ लाख ४९ हजार १ सय ३२ जना अर्थात ९६।७ प्रतिशत कोरोना भाइसरबाट मुक्त भएका छन् ।

विश्वभरका गैरआवासीय  नेपालीले लगाए कोरोनाविरुद्धको खोप

विदेशमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेका छन् । पहिलो चरणमा  अग्रपंक्तिमा  कार्यरत नेपालीहरुले खोप लगाउन थालेका हुन् । हाल बेलायत,  कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना विरुद्धको खोप लगाइरहेको संघले जनाएको छ ।

नयाँ प्रकारको भाइरसबाट बचौँ

बेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै अहिले सर्वत्र चिन्ता बढेको छ । स्वास्थ  समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म धेरैपटक म्युटेसन९उत्परिवर्तित० भएर अर्थात्  त्यसको गुणहरुमा धेरै परिवर्तन भएर नयाँ स्ट्रेन९स्वरुप०हरु बनिसकेको अवस्था छ ।

हालसम्मको अध्ययनका अनुसार उत्परिवर्तित  भाइरस पुरानो भाइरसको तुलनामा लगभग ७० प्रतिशत छिटो फैलिएको पाइएको  छ । हाल लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा कोभिड–१९ लागेको ४५ देखि ७० प्रतिशत बिरामीमा यो उत्परिवर्तित भाइरस देखिएको छ । युरोपेली  संघ अन्तर्गतका ८ मुलुकहरू सहित, केही अफ्रिकी  मुलुकहरू पनि यो भाइरस तीब्र रूपमा  फैलिएको  पाइएको  भन्दै समितिले  अत्यावश्यक  बाहेकका यात्रा  नगर्न त्यहाँस्थित नेपालीहरुलाई अनुरोध गरेको छ ।

डा सापकोटाका अनुसार हाल जति पनि खोप बनिरहेका छन् ती अन्तिम परीक्षणमा छन् । ती भ्याक्सिनले उत्परिवर्तित भाइरस विरुद्ध काम गर्छ कि गर्दैन भन्ने सर्वत्र  चासो छ । यस्तो  अवस्थामा स्वास्थ्य सावधानी  अपनाउनुको विकल्प  नभएको  उहाँको  भनाइ  छ ।

विशेषत: केही युरोपेली  मुलुकहरु र बेलायतमा हाल लकडाउन र कडा  खालको प्रतिबन्ध  लगाइएकोले पनि  कुनै समस्या परे त्यहाँस्थित गैरआवासीय  नेपाली  संघ अन्तर्गतका राष्ट्रिय  समन्वय  परिषद्मा सम्पर्क  गर्न समेत  समितिले  आग्रह  गरेको छ ।

संयोजक डा सापकोटाले भीडभाडमा नजान, जानु परे पनि दुई मिटरको दूरी कायम राख्न, बाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउन र साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न सुझाव  दिनुभएको  प्रेस संयोजक चिरन शर्माले बताए ।

[sidebar name="button post"]