क्रिकेटमा भविष्य खोज्दै बिपीशा, राष्ट्रिय टिमबाट खेल्ने सपना

समिता श्रेष्ठ

प्रधानमन्त्री कपका लागि काठमाण्डौबाट महिला टिममा छनौट हुनुभएको छ, बिपीशा शाही । उहाँ प्रधानमन्त्री कपको तयारीमा नै हुनुहुन्छ । शाहीले अरु धेरै क्रिकेट म्याच खेलिसक्नु भएको छ । उहाँको उद्देश्य नै नेपाली क्रिकेट टिममा पुग्ने रहेको छ । उहाँ भन्नुहुन्छ,‘नेपाली टिमबाट खेल्ने अनि परिवारको खुसी साथै देशका लागि नाम राख्ने र सम्पूर्ण नेपालीलाई खुसी बनाउन लक्ष्य रहेको छ ।’

परिचय

बिपीशा शाही २०६३ साल बैशाख ३१ गते काठमाण्डौको कागेश्वोरी मनोहरा नगरपालिका वडा नं ९ मा जन्मनु भएको हो । उहाँको परिवारमा आमाबुवा र दाईदिदी गरी ५ जना हुनुहुन्छ । शाही अहिले कक्षा १० मा पढ्नुहुन्छ । चन्चले स्वभावकी उहाँ बाल्यकालमा फेसन डिजाइनर बन्ने रुचि राख्नुहुन्थ्यो । तर दाई बिपिन बिक्रम शाही क्रिकेटर हुनुहुन्थ्यो । दाई क्रिकेट खेल्ने गरेको देखेर उहाँको पनि रुचि र लगाव क्रिकेटमै बढ्दै गयो ।

परिवार र स्कुल मिलेर आफ्नै एकेडेमी खोल्नुभयो । त्यसपछि झन् क्रिकेटमा रुचि बढ्यो । शाही भन्नुहुन्छ,‘मैले क्रिकेट खेल्न थालेको चार वर्ष भैसक्यो । जब प्रधानमन्त्री कपमा छनोटका लागि गए, मलाई म छानिन्छु भन्ने लागेको थियो । किनभने मैले धेरै सिरिजहरु खेलिसकेको छु । प्रधानमन्त्री कपमा जाँदा हल्का डर त लागि नै रहेको थियो । तर म भित्र आत्मविश्वास थियो र आफूमाथी भरोसा राखेर प्रधानमन्त्री कपको छनोटमा गएको थिएँ ।’

राष्ट्रिय क्रिकेट टिममा पुग्ने उद्देश्य

धेरै सिरिजहरुमा खेल्दै यहाँसम्म आईपुगेको हो । मेरो परिवारमा म मात्रै होईन मेरो दाई पनि क्रिकेटमा हुनुहुन्छ । मैले लकडाउनको समयमा नि नेक्सस क्रिकेट एकेडेमीमा धेरै ट्रेनिङहरु गरिरहेको नै थिएँ । अहिलेसम्म कहिले पनि आफ्नो ट्रेनिङ छुटाएको छैन । हरेक दिन दुई तीन घण्टा ट्रेनिङ गरिरहेको हुन्छु ।

म फाष्ट बलर पनि हुँ । मेरो लागि फिन्टनेस नै आवश्यक कुरा हो । त्यसैले हरेक दिन बिहान कुद्न जान्छु र अन्य एक्ससाईज र फिन्टनेस मेन्टेन गरिरहेको हुन्छ । परिवारको सबै सदस्यहरुले एकदमै सपोर्ट गर्नुहुन्छ । उहाँहरुकै सपोर्टको कारणले नै यहाँसम्म आईपुगेको छु । अबको मेरो उद्देश्य राष्ट्रिय क्रिकेट टिममा आफ्नो नाम निकालेर धेरै राम्रो खेल्नुछ ।

देश र राष्ट्रको नाम क्रिकेटबाटै चिनाएर आफ्नो परिवार र नेपालीलाई खुसी बनाउनु छ ।

कडा मेहनत गर्दै उद्देश्य तर्फ लम्कदै : परिवारको पूरा साथ

म अहिले आफ्नो उद्देश्यलाई साकार बनाउन कडा मेहनत गर्दैछु । आफ्ना कोचहरुको कुरा सुन्ने गर्छु । अनि आफुले नबुझेका कुराहरु सोध्ने गर्छु । आफूमा के कमिकमजोरी छन् भनेर सोध्ने र मुल्यांकन गर्नुका लागि खेल खेल्दा आफ्नो भिडियोहरु खिच्न लगाएर हेर्ने पनि गर्छु । म्याचहरु हेर्ने र खेल्ने गर्छु । यसमा मलाई मेरो परिवारको धेरै सपोर्ट छ ।

मैले खेल्नु भन्दा पहिलेदेखि नै दाईले खेल्नुहुन्थ्यो, हेर्नुहुन्थ्यो । सबै परिवारले दाईलाई पनि एकदमै सपोर्ट गर्नुहुन्थ्यो । जब मैले खेल्न सुरु गरे त्यसपछि मलाई पनि एकदमै सपोर्ट गर्नुभयो । यदि मेरो ध्यान भट्कयो भने पनि मम्मी बाबाले नै सम्झाउने गर्नुहुन्थ्यो । खेल्नुपर्छ भनेर भन्नुहुन्थ्यो ।

परिवारको साथ हिजो पनि पाएको थिएँ र आजको दिनसम्म पनि पाई नै रहेको छु । परिवारबाट एकदमै साथ र सपोर्ट छ । मेरो परिवार नै मेरो शक्ति हो । उहाँहरुबाटै मैले आत्मविश्वास बटुलेर निडर भएर क्रिकेट मैदानमा जाने गर्छु ।

आफ्नो काम प्रति सन्तुष्ट छु

म आफ्नोकाम प्रती निकै नै सन्तुष्ट छु । नेक्सस क्रिकेट एकेडेमी र यहाँका कोचहरुबाट मैले कुरा सिक्ने र जान्ने मौका पाएको छु । यदि नेक्सस एकेडेमी नभएको भए क्रीकेट खेल्न पनि सक्दिन थिए होला । आज म जे छु नेक्सस क्रिकेट एकेडेमी र मम्मी बाबाको कारणले छु ।

[sidebar name="button post"]