सरोज कार्की
झण्डै १० महिना बन्द फिल्म हल आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले फिल्म हल सञ्चालन गर्न कुनै चासो नदेखाएको भन्दै हल सञ्चालकले आफै खुलाउने निर्णय गरेका हुन् । कोरोना संक्रमण जोखिमलाई ध्यानमा राखेर भौतिक दूरी र स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड अपनाउने उनीहरुले बताएका छन् । यो बेला फिल्म हल खोल्न कत्तिको उपयुक्त होला ? हामीले केहि नागरिकसँग छोटो प्रतिक्रिया लिएका छौँ ।
सुनील दाहाल : सरस्वतीनगर
कोरोना महामारी अहिलेसम्म पनि नियन्त्रणमा आएको छैन । यसकारण अहिले नै सिनेमा हल सञ्चालनमा ल्याउनु उचित छैन । हलभित्र भौतिक दूरी कायम गर्न खोजिएला तर संक्रमणका हिसाबले हल सुरक्षित हुँदैन ।
राजिवबहादुर श्रेष्ठ : गणेशस्थान
सिनेमा हलले निश्चित दूरी कायम गरी सेनिटाइजर, मास्कलाई पूर्ण पालना गर्ने हो भने सञ्चालन गर्दा हुन्छ । सकेसम्म एउटा ढोकाबाट छिरेर अर्कोबाट निस्कने, भित्र छिर्नु अघि फेस सिलको प्रयोग गर्ने हो भने सुरक्षित हुन्छ । सिनेमा हलले अनलाइन टिकट बुकिङ्ग गर्नुपर्छ । सम्भव भए फिल्म पनि अनलाइन रिलिज गर्ने व्यवस्था भए संक्रमणको जोखिम हुँदैन ।
अनिता श्रेष्ठ : चाबहिल
सिनेमा हल खोल्ने बारेमा म सहमत हुन सक्दिन । कोरोनाका कारण सबै व्यवसायमा असर परेको छ । कतिपयले अहिलेसम्म पनि घरको भाडा तिर्न सकेका छैनन् । सिनेमा हल सञ्चालकले आफै सोच्नुपर्ने विषय हो । भौतिक दूरी सम्भव छैन । किनभने अहिले सार्वजनिक गाडीमा हेर्ने हो भने स्वास्थ्यका मापदण्ड पालना भएका छन् र ? पहिला त सुरक्षाका बिधी अपनाएर सञ्चालन गर्ने भनिएको थियो । यसकारण तत्काल हल खोल्नुहुँदैन ।
पूर्ण महर्जन : ललितपुर
मठमन्दिर खुले, मानिसहरुले बिहे भोज भतेर, पुजापाठ गरेकै छन् । आन्दोलन, धर्ना जस्ता भिडभाडका काम भैरहेका छन् । भौतिक दूरी कसैले पालना गरेको छैन । सिनेमा हलमा अरु अरु जाँदैनन्, त्यहि फिल्म नै हेर्न जाने हुन् । यसकारण हल खोल्दा फरक पर्दैन तर कोरोना संक्रमण जोखिमबाट आफै जोगिनुपर्छ ।
बिनय श्रेष्ठ : चाबहिल
सबैको आफ्नो आफ्नो व्यवसाय छ । कोरोनाका कारण सबैलाई असर परेको छ । सरकारले मतलब नै गरेको देखिदैन । सिनेमा हल सञ्चालकहरुलाई पनि आफ्नो व्यवसायमा निक्कै नै घाटा भएको छ । तेसैले केहि सुरक्षित प्रकिया अपनाएर सञ्चालन गर्न सकिन्छ । भौतिक दूरी त असम्भव छ । तर आफै सचेत हुनुपर्छ ।
सरिता सुवेदी : चाबहिल
यसरी सिनेमा हल सञ्चालन गर्नु उचित हैन जस्तो लाग्छ । कोरोनाको कारण धेरै मानिसको ज्यान गएको छ र अहिले पनि दिनकै मरेको सुनिन्छ । सिनेमा हलमा जसरी भिड जम्मा हुन्छ त्यो भिडमा जानेहरु आफुलाई पनि संक्रमित बनाउन हो जस्तो देखिन्छ ।
कोरोनाको सुरुमा संक्रमित संख्या १÷२ जना हँुदा भौतिक दूरी र सुरक्षा बिधी अपनाएको अहिलेसम्म झण्डै २ हजार नागरिकले ज्यान गुमाउनुपर्ने थिएन । यसरी भिडभाड गर्ने र स्वास्थ्यका सावधानी नअपनाउने हो भने संक्रमण रोक्न कठिन हुन्छ ।
सुजन घिमिरे
भौतिक दूरी र स्वास्थ्य मापदण्ड पुरा गर्न सके हल सञ्चालन गर्न सकिन्छ । यो पनि एउटा व्यवसाय हो र हलको सञ्चालकलाई पनि धेरै मर्का परेको होला । यसकारण टिकट लिन आवश्यक दूरी कायम गर्ने र मास्क जस्ता सुरक्षा बिधीको अनिवार्य पालना गर्न जरुरी छ ।
स्वास्थ्य सावधानी नअपनाउनेलाई प्रवेश नदिने र हल भित्र १÷२ सिटको दूरी राख्ने, पन्जा आनिवार्य गराउने र एक÷अर्कासंग बोल्न निषेध गरेमा हल खोल्न सकिन्छ ।









