९ पुष, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि अनामनगरमा छुट्टै भेला गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलसँग युवा नेताहरु गगन थापा र प्रदीप पौडेल पनि उभिएका छन् । सरकारले संसद विघटन गरेपछि तत्कालै सडकमा जानुपर्ने पक्षमा रहेका थापा र पौडेलले सभापति देउवालाई दबाब दिन रामचन्द्रको पक्षमा उभिएका हुन् ।
कृष्ण सिटौला नेतृत्वको गुटमा रहेका गगन थापा र प्रदीप पौडेल एजेन्डा र आवश्यकता हेरेर देउवा र रामचन्द्रलाई साथ दिदै आएका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले यसका विरुद्ध सडक र न्यायिक लडाई लड्नुपर्ने धारणामा पार्टी नेतृत्वलाई सहमत गराउन पौडेल पक्षका नेताहरुको भेला भइरहेको छ ।
पौडेल पक्षको भेलामा सशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, महेश आचार्य, अर्जुन नरसिंह केसी, रामशरण महत लगायतका नेताहरु पनि सहभागी छन् । सभापति शेरवहादुर देउवा ओलीसँग भित्रभित्रै मिलेको आशंका भएपछि पौडेल पक्ष र सिटौला पक्ष नजिकिएका हुन् ।









