९ पुष, काठमाडौं । एक जना मोटरसाइकल चालकसँग अपरिचित युवतीले ‘लिफट्’ माग्दा ६ लाख रुपैंयाँ चोरी भएको छ । मोटरसाइकल चढेर कलङ्की जाँदै गरेका सिन्धुलीका भोलाबहादुर जर्घामगरलाई एक अपरिचित युवतीले ‘लिफट्’ मागिन् । कुरा ०७७ साउन ८ मा हो । युवती रत्नपार्कमा लिफ्ट माग्ने युवतीलाई भोलाले लिफ्ट दिए ।
ती अपरिचित युवतिलाई भोलाबहादुर पहिले मोटरसाइकलमा चढाउनु अघि सोधेका थिए कहाँ जाने ? युवतीले भनिन्–‘चोभारसम्म जाने, छाडिदिनु नँ ।’ पहिलेदेखि नै त्यहाँ ग्याङ बनाएर बसेका युवाहरुले चाेभार पुगेपछि उनलाई नियन्त्रणमा लिए, र लुटे ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका जर्घामगरको साथबाट ६ तोला सुनको सिक्री, मोवाईल २ वटा र पैसा लुट्ने समूहका लालबहादुर श्रेष्ठ उर्फ सागरलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा सैलुङ घर भएका लालबहादुरलाई लामो प्रयासपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
लाल बहादुरसहितको सो समूहले युवतीलाई प्रयोग गरेर लुट्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुले जर्घामगरबाट ६ लाख ३५ हजार बराबरको धनमाल लुटेका थिए । डकैतीमा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।









