८ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आउँदो बर्षको मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले सातै प्रदेशमा तत्कालै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
प्रशिक्षण कार्यक्रम सन्चालनका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले कार्यकर्ता प्रशिक्षणका लागि नेताहरुको जिम्मेवारी तोकेको जानकारी सार्वजनिक गरेका हुन् ।
जसमा पूर्वमाओवादीबाट ओली समूहमा गएका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि प्रशिक्षणमा खटिएका छन् । यस्तै ओली समूहका प्रभावशाली नेता ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु र प्रदीप ज्ञवाली पनि प्रदेश स्तरको कार्यकर्ता प्रशिक्षणमा खटिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा नेताहरु लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे तोकिएका छन् । भट्ट पूर्व माओवादी समूहका हुन् । यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै लुम्बिनी प्रदेशमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेललाई जिम्मेवारी तोकिएको छ ।
वागमती प्रदेशमा भने ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याललाई कार्यकर्ता प्रशिक्षणको जिम्मेवारी तोकिएको छ । प्रदेश नं २– ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोलाई जिम्मेवारी दिइएको छ । प्रदेश १ मा भने सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फेलाई जिम्मेवारी तोकिएको छ ।
पछिल्लो समय नेकपाका बहुमत सदस्य प्रचण्ड र माधव नेपाल समूहमा लागेपछि ओली समूह पनि बहुमत जुटाउने कसरतमा जुटेको छ । सोही कारण प्रदेश स्तरमा तत्कालै कार्यकर्ता प्रशिक्षण थालिएको हो ।












