समिता श्रेष्ठ
जाडोमा ओठ सुख्खा हुने, बेला बेला छाला फुट्ने र रगत समेत आउने गर्छ । धेरैका हातखुट्टा पनि पट्पट्टी फुट्ने गर्छन् । यो बेला ओठको सुरक्षाका लागि लिप गार्ड त धेरैको गोजीमा छुट्दै छुट्दैन । छालामा सुख्खापना बढ्दै जान्छ । त्यसैले जाडो मौसम छालाका लागि अनुकूल मानिदैन ।
जाडो मौसममा बाहिरी वातावरण सुख्खा हुने भएकाले हाम्रो छालामा पनि त्यसको असर देखा पर्छ । यसरी चिसो मौसममा छालामा विभिन्न समस्याहरु देखापर्ने गर्छ ।
किन फुट्छ छाला ?
हाम्रो शरीरको सुन्दरता बढाउन छालाको महत्वपूर्ण भुमिका हुन्छ । छालामा मौसमको प्रभाव बढी पर्छ । मौसम एवं छालाको प्रकृति अनुसार हेरचाह गरेर छालालाई स्वस्थ एवं सुन्दर बनाउन सकिन्छ । जाडो मौसममा चिसोले गर्दा छाला सुख्खा भएर कोमलताको अभावले छाला फुट्ने पनि हुन्छ ।
सुख्खा छाला चिसो मौसममा अझ धेरै सुख्खा भै फुट्ने हुनाले यसको विशेष हेरचाह गर्नु आवश्यक पर्दछ । जाडोमा पहिला ओठ सुख्खा हुने समस्या हुन्छ । त्यसपछि शरीरका बिभिन्न भागका छालामा समेत असर देखिन्छ । यसो हुनुको कारण वातावरणीय परिवर्तन नै हो । किनभने जब बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको तापक्रम भन्दा कम हुन्छ तब हाम्रो शरीरको ताप वातावरणले तान्ने गर्दछ । यस्तोमा सबैभन्दा बढी एक्सपोज हुने भागहरू जस्तै ः अनुहार, ओठ, हातखुट्टा लगायतका भागहरु बढी सुख्खा हुन्छन् ।
छाला सुख्खा हुनेहरूलाई चिलाउने समस्या बढी हुन्छ । कहिलेकाहीँ त चिलाउँदा चिलाउँदै घाउ नै हुन पनि सक्छ । यस्तो अवस्थामा विशेष सावधानी अपनाउन जरुरी हुने बयोदा अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डाक्टर निश्ला शाक्यले बताउनुभयो ।
छाला सुख्खा किन हुन्छ
जाडो सुरु हुँदा सबैभन्दा पहिले ओठ सुख्खा हुने समस्याबाट हुने गर्छ । जब हाम्रो शरीरको छाला सुख्खा हुन्छ तब छालासम्बन्धी रोगहरू बल्झिएर आउँने गर्दछ । परिवर्तन भइरहने वातावरणका कारण छालाका समस्या बढ्छ । एउटा वातावरणमा छाला एड्जस्ट हुन नपाउँदै अर्को सिजन सुरु भइदिन्छ जसले छालालाई सीधा असर गर्छ ।
१) साबुनको धेरै प्रयोग गर्दा छाला सुख्खा हुनुका साथै फुट्ने समस्या पनि बढ्छ ।
२) धेरै तातो पानीले नुहाउनाले पनि छाला सुख्खा हुने हुन्छ ।
३) ब्लड प्रेसरको औषधी सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या धेरै नै हुन्छ ।
४) त्यसैगरी विभिन्न रोगका औषधीहरू सेवन गर्नेहरूमा पनि छाला सुख्खा हुने समस्या अरुलाई भन्दा बढी हुन्छ । जस्तै : यूरिन धेरै जाने औषधीको सेवन, बोसो घटाउने औषधीको सेवन, सुगरको औषधीको सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या बढी हुन्छ ।
छालालाई सुख्खा हुनबाट कसरी जोगाउने
जाडोयाममा केही सावधानी अपनाउने हो भने छाला सुख्खा हुनबाट जोगाउन सकिने छालारोग विशेषज्ञले बताएका छन् । बयोदा अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डाक्टर निश्ला शाक्यका अनुसार ः
१) जाडोयाम सुरु भएसँगै शरीर ढाक्ने कपडाहरु लगाउने गर्नुपर्छ ।
२) खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुख्खा छालाको समस्या समाधान हुने गर्दछ ।
३) छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नु राम्रो हुन्छ ।
४) धेरै तातो पानीले सावरबाट सीधै नुहाउने हुँदैन । मन तातोपानीको प्रयोग गर्नुपर्छ ।
५) एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन राखेर नुहाउने गर्नाले छाला सुख्खा हुन दिदैन । नुनमा हुने सोडियम क्लोराइडले पानीको
ताजापनलाई जोगाउन सहयोग गर्ने गर्दछ ।
६) कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्ने गर्नु पर्दछ ।
७) नुहाए लगत्तै तेल अथवा मोइस्चराइजर लगाइ हाल्नुपर्छ । बाथरुममै तेल वा मोइस्चराइजर राख्ने बानी गर्नुपर्छ । र टाबेलले शरीर पुच्नेवित्तिकै लगाउनुपर्छ । तेल वा मोइस्चराइजरले शरीरको हिटलाई कन्ट्रोल गरिदिन्छ, जसले गर्दा छाला सुख्खा हुनबाट बच्ने गर्दछ ।
८) यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।
छालाको सुरक्षाका लागि क्रिमको छनोट
बयोदा अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डाक्टर निश्ला शाक्यका अनुसार छालाको नरमपन तथा सुरक्षाको लागि छालालाई मोइस्चराइजर गर्नुपर्छ । नुहाएपछि मोइस्चराइजर लगाउँदा शरीरमा तेलको उत्पादन बढ्ने गर्छ । चिसो हावाबाट छालालाई सुरक्षा प्रदान गर्न मोइस्चराइजर क्रिम प्रयोग गर्नु उपयुक्त हुन्छ ।
शरीरमा लगाइने एन्टिइजी ओयली स्किन, ड्राई स्किनसहित विभिन्न किसिमका मोइस्चराइजर क्रिम बजारमा उपलब्ध छन् । तीमध्ये आफ्नो छालाको प्रकृतिअनुरूप आफ्नो छालालाई सुहाउँदो कुनै पनि क्रिम छनोट गर्न सकिन्छ । डाक्टर शाक्यका अनुसार खानपान र सनस्क्रिन प्रयोगमा पनि ध्यान दिनुपर्छ ।
खानपान :
छालाका संक्रामक रोगको सामना गर्न शरीरको प्रतिरक्षा प्रणालीलाई चुस्त राख्नु पर्दछ । जसको लागि आफ्नो भोजनमा अंगुर, गाजर, पालक, बदाम, अण्डा, माछा आदि समावेश गर्नु राम्रो हुन्छ । यी सबै भिटामिन तथा ओमेगा थ्रीका राम्रा स्रोतहरु हुन् ।
स्किन बस्टर्स :
आफ्नो व्यस्त दिनचर्या वा कामकाजका कारण छालालाई स्वस्थ राख्न असमर्थ हुनेहरूले आफ्नो छालाको नरमपन कायम राख्न स्किन बस्टर्स प्रयोग गर्नु पर्छ । छालाको नरमपन र चमक कायम राख्न रेस्टिलेन बाइटल एउटा राम्रो विकल्प हो । नयाँ जमानाको डर्मल फिलर रेस्टिलेन बाइटलले केही मिनेटमै राम्रो परिणाम दिने गर्दछ ।
सनस्क्रिन :
सनस्क्रिनको प्रयोग गर्मी मौसममा मात्र होइन जाडोमा पनि गर्नु पर्दछ । जाडोमा न्यानोपनको लागि घामसंग नजिकको सम्बन्ध राख्ने हुनाले कालोपोतोहरु आउने समस्या हुनु सक्छ । त्यसैले हाम्रो छालाको सुरक्षाको लागि प्रत्येक २÷३ घण्टाको फरकमा सनस्क्रिनको प्रयोग गरिराख्नु पर्छ ।
यति गर्दा गर्दै पनि छाला सुख्खा हुने र फुट्ने समस्या भयो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।











