७ पुष, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो।
भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने छ। पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रमण पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए।
युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले बताए।बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइनमा बसी जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ।
यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहेकाहरुले अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टाइनमा बसी परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ।












