समिता श्रेष्ठ
अजय अधिकारी ‘सुशील’ आफ्ना कामबाट कुशल शिक्षकदेखि कलाकार र समाजसेवीका रुपमा परिचय बनाउन सफल हुनुहुन्छ । बहुमुखी प्रतिभा र क्षमताले भरीपूर्ण अधिकारी यो क्षेत्रहरुमा बिगत एक दशकदेखि लागिरहनु भएको छ । उहाँलाई सबैले रुचाउने गर्छन् ।
जन्म र परिवार
अधिकारीको जन्म २०४७ साल मंसिर ३ गते काठमाण्डौको तार्केश्वर २ मा भएको हो । उहाँको परिवारमा बुबाआमा, श्रीमती, दाइ र छोरा हुनुहुन्छ । श्रीमती लक्ष्मी अधिकारी पनि शिक्षण पेशा र सामाजिक कार्यमा अग्रसर हुनुहुन्छ । दाई सुमन अधिकारी पेशाले डाक्टर हुनुहुन्छ । अधिकारीले समाजशास्त्र बिषयमा स्नातकोत्तर पूरा गरिसक्नु भएको छ । त्यसभन्दा माथीको पनि अध्ययन जारी नै छ ।
उहाँ भन्नुहुन्छ,‘मेरो बाल्यकाल एकदमै रमाइलो रह्रयो । बाल्यकालदेखिको रुचि गीत संगीत र अभिनयमा थियो । मलाई पहिलेदेखि गायक÷कलाकार बन्छु भन्ने लाग्थ्यो । मेरो बाल्यकाल बाटो बाटोमा चिच्याउदै, कार्यक्रमहरु र स्कुलहरुमा गीत गाउँदै, रमाइलो गर्दै बित्यो ।
बाल्यकालमा जानेर वा नजानेर गल्तीहरु पनि भए होलान् । किनभने म बाल्यकालमा अलि फटाहा स्वभावको पनि थिएँ । मेरो ध्यान पढाईमा त्यति हुँदैन थियो तर पनि पढाई राम्रो नै थियो । अहिले म शिक्षण पेशा, सामाजिक सेवा र कलाकारितामा छु ।’
शिक्षण पेशा
अधिकारी समता शिक्षा निकेतनमा प्राचार्यको रुपमा कार्यरत हुनुहुन्छ । समतामा उहाँ २०६४ सालदेखि आवद्ध हुनुभएको हो । यो एउटा देशभर एकासी वटा शाखा भएको विद्यालय हो । समता नर्सरीदेखि मास्टर्ससम्म संसारकै सर्वसुलभ मुल्यमा शिक्षा दिने संस्था पनि हो । सस्तो मात्रै नभएर पढाईमा पनि गुणस्तर छ ।
अधिकारी भन्नुहुन्छ,‘यस्तो संस्थाको केन्द्रिय विद्यालयमा प्राचार्यको पदमा रहेर काम गर्नु प्रतिष्ठाकै विषय हो । जिम्मेवारी र दायित्वको कुरा पनि हो । समता स्कुलमा मेरो दैनिकी बिहान साढे पाँच बजे सुरु हुन्छ र बेलुकी ११ बजे सम्म रहन्छ । बिहानको समयमा कक्षा ११ देखि मास्टर्ससम्मको विद्यार्थीहरु लाई रेखदेख गर्ने जिम्मेवारी छ ।
त्यसपछि साढे ९ बजेदेखि मेरो अरु सानो कक्षा ९ भन्दा तलका भाईबहिनीलाई रेखदेख गर्ने जिम्मेवारी छ । फेरि १० कक्षाको भाईबहिनीहरु बेलुकी ७ सम्म बस्नुहुन्छ । उहाँहरुको रेखदेख गर्ने जिम्मेवारी छ । समता स्कुलमा आफुले आफ्नो समय कहिले ३ सय, कहिले ४ सय विद्यार्थीहरु रेखदेख गर्ने मेरो एउटा सौभाग्य छ ।
त्यसकारण धेरै समय समता स्कुललाई नै दिन्छु । अनि त्यसबाट बचेको अन्य समय सामाजिक सेवा र संगितमा लगाउने गर्छु ।’
समतामाबाट समाजलाई बुझ्ने मौका प्राप्त, सामाजिक सेवाभावको विकास
समयसँगै बढ्दो उमेर । उमेरसँगैको परिर्वतन स्वभाविक हो । समाज बुझ्न निक्कै गाह्रो छ । ‘म समतामा नभएको भए आर्थिक रुपमा केही धेरै कमाउँथे होला, बिदेशमा पनि हुन सक्थें होला वा व्यापार व्यवसाय हुन सक्थे होला’ उहाँ भन्नुहुन्छ,‘समतामा आएपछि मैले समाजलाई बुझ्ने मौका पाएको छु । अन्य कुनै पनि पेशा वा व्यवसायमा आवद्ध भएर पाउन नसक्ने मौका समाताबाट पाएको छु । मेरो जिवनमा समताले ल्याएको परिवर्तन यहि हो जस्तो मलाई लाग्छ ।’
सामाजिक काम भनेको जिवनले आफुलाई बुझ्दै जाँदा बुझेर गरिने काम हो । सानैदेखि मलाई सामाजिक कामहरु राम्रो लाग्थ्यो । समाज सेवाको काम परिवारका अग्रज ब्यक्तिहरु हजुरबुबा हजुरआमा र बुवाआमाबाट सिक्दै आएको हो । त्यसपछि जब म समता स्कुलसंग जोडिए तब विद्यार्थी र विद्यार्थीका अभिभावकहरुसंग जोडिएको आर्थिक समस्याहरु महसुश गर्दै गएँ ।
त्यसपछि समाजको लागि केहि गर्नुपर्छ भन्ने अनुभव हुँदै गयो । मैले समता स्कुलबाटै समस्याहरुबारे बुझ्ने मौका पाए र सामाजिक कार्यहरू गर्दै हिँड्न थाले । सामाजिक कार्य बाल्यकालदेखि नै कहिले के कहिले के गरिनै रहेको हुन्थे । यो क्षेत्रमा पनि देखिने गरेर अगाडी गएर गरेको समता स्कुलमा जोडिएपछि नै हो ।
गायन बाल्यकालदेखिकै रुचि र सपना
गीत गाउने उहाँको सानैदेखिको रहर थियो । त्यसैले आफ्नो शिक्षण पेशाबाट आएको आयस्रोत जम्मा गर्नुभयो । बरु घुम्न र केही किन्न छोडेर पैसा जोगाउनुभयो । त्यसैबाट एल्बम निकाल्नुभयो । ‘मेरो एउटा सोख गीत रेकर्ड गरेर एल्बम निकाल्ने थियो ।
मैले पाएको तबलबाट पहिलो गीत रेकर्ड गरेँ’ अधिकारी भन्नुहुन्छ,‘त्यसपछि अलिअलि पैसा जम्मा हुँदै गयो । त्यसबाट म्युजिक भिडियो बनाउन थालें । आफ्नो सानैदेखिको रहर गित लेख्ने गाउने र गायक बन्ने सपना पूरा गरे । यो गायक बन्ने सपना र रहर सानैदेखिको भए पनि प्रोफेसनल रुपमा लागेको पनि एक दशक नै भयो ।’
उहाँको पहिलो गीत ‘मादलुको घिताङ्ग मिठो सारङ्गीको र्याईर्याई, राम्रो लाग्छ नेपालीपन जहाँ जान्छु त्यहीँ त्यहीँ । मलाई मन पर्यो हाम्रै नेपाल’ हो । यो गित उहाँले १७ वर्षको उमेरमा आफै लेखेको र पछि संगीत भरेर अझै पछि पैसा जुटाएर रेकर्ड गर्नुभएको हो । उहाँ लोकगीत, पपगीत र आधुनिक गीत संगीतमा सबै गाउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘जीवन सिकाई हो र मैले सिक्दैछु ।’
सबै गीतहरुमा फरकपन छ, त्यसैले सबै मनपर्ने उहाँ बताउनुहुन्छ । मेरा गीतहरु म आफै लेख्ने, गाउने र आफैले संगित भर्ने गर्छु । आफुले लेखेका शब्दहरू धेरै मन पर्छ । आफुले गाएको, रचना गरेको गीत आफ्नो सन्तान जस्तै हुन्छन् । आमाको लागि लेखेको बढेमानको घाँसको भारी, तिजमा लेखिएको पानी नखाई बस्नै पर्दैन, दशैंका लागि लेखिएको खानुलाई छैन दुई मुठ्ठी अन्न खसी चाहिँ सिँगै चाहिने, माया प्रेममा हराएको युवायुवतीहरुको लागि लेखिएको मलाई माया गर्छु भन्दै सबलाई भन्दै नहिँड, म नै यदि भैईन भने तिम्लाई कस्ले लान्छ नि, विद्यार्थी भाइबहिनीहरुको लागि पढ् आउ भनेर कस्ले बोलायो भन्ने गित भयो ।
प्रायः युवा पुस्ताहरुले मन पराउनु भएको छ । त्यसैले गीतहरुमा यो त्यो बिशेष भन्ने छैन सबै राम्रो लाग्छ । मेरो लागि संगीत मेरो सानो बेला देखीको रहर, साधना र एउटा आफुले थाहै नपाई देखेको सपना हो त्यसैले कुनै एकलाई महत्त्व दिएर यो मन पर्छ भन्ने छैन ।
संगीतमा सिकाई आवश्यक
संगीतमा लाग्न चाहने जो कोहिले सिकेर आउँदा धेरै फाईदा छ । सिकेर आउनु भयो भने प्रोफेसनल बन्न सकिन्छ । सोख रहरका लागि मात्रै गर्ने हो भन्ने आफैले गाउने आफैले खर्च गर्ने गरिराख्नु पर्छ । तर सिकेर यसैमा भिजेर संगीतमा आउन सक्यो भने पछिका दिनमा यसबाट प्राप्त पनि गर्न सकिन्छ । आफ्नै लगानीमा मात्रै होईन अरुको लगानीमा पनि गाउने अवसर प्राप्त हुन्छ । विभिन्न सांगितिक कार्यक्रमहरु प्राप्त हुन्छ ।
सोख र रुचिको लागि मात्रै गाएर अर्थ छैन । त्यही भएर संगितमा लाग्न चाहनेहरुले सिकेर, लगनशील भएर लाग्दा राम्रो हुन्छ । त्यस्तै कलाकारिता पनि सिकेर बुझेर आउँदा राम्रो हुन्छ । आफुले राम्रो गर्न सकेमा कलाकारीताबाटै पनि धेरै प्राप्त गर्न सकिन्छ ।
आफुले जिम्मेवारी लिएको विद्यार्थीको सफलता नै आफ्नो सफलता
मेरो प्रेरणाको स्रोत उहाँ नै यहि नै भन्ने छैन । रेडियोहरु सुन्दै, रत्यौली हेर्दै सुन्दै गाउनु पर्छ भन्ने मनमा लाग्यो र कलाकारितामा पनि लागे । सामाजिक सेवामा लाग्दै अहिलेसम्म धेरैलाई उद्दार पनि गरेका छौँ । पहिलो लकडाउनदेखि आजसम्म पनि म सडक पेटिमा बस्नुहुने मान्छेहरूलाई खाना खुवाउँदै आईरहेको छु ।
त्यस्तै चिसोलो कथ्राग्रीएको मान्छेहरुलाई लत्ताकपडा, ब्ल्याकेट दिन्छु । कहिँ पहिरो गयो भने त्यहाँ खाद्यान्न लिएर पुग्छौं । एउटा मानव भएर जन्मिएपछी आफ्नो घरपरिवारको लागि मात्रै भन्दा पनि अरुको लागि पनि सोच्न सक्यो भने त्यो सबैभन्दा ठुलो कुरा हुन्छ । त्यसैले यी चिजहरुमा गर्दा खुशी लाग्छ । तर सबैभन्दा मन सन्तुष्ट र राम्रो लाग्ने काम भनेको समता स्कुलमा काम गरेर आफ्ना विद्यार्थीहरुलाई खुड्किला चढाउने काम गरिएको छु ।
आफुले पढाएका विद्यार्थीहरु डाक्टर, इन्जिनियर, पत्रकार, प्रहरी, सामाजिक कार्यकर्ता भएका छन् । यो आफुले जिम्मेवारी लिएको विद्यार्थीहरुको सफलता नै आफ्नो सफलता हो । त्यसैले अहिले देख्दा सडक पेटिहरुमा खाना बाँडेको, कसैलाई केही आवश्यकताको कुरा किन्देको, कसैलाई सहयोग गरेको कामहरु यी चिजहरु सबै क्षणिक हो तर हेर्नेलाई आहा राम्रो लाग्दछ ।
तर मैले गरेको चिज मलाई असाध्यै राम्रो लाग्ने भनेको मासिक एक सय रुपैयाँमा नर्सरीदेखि मास्टर्ससम्म पढाई हुने समता विद्यालयको विद्यार्थीहरुलाई मैले जिम्मेवारी लिने मौका बिगत लामो समयदेखि पाएको छु यहि नै हो ।
आफ्नो काम देखि कोहि सन्तुष्ट हुँदैन
मान्छेहरु कोहि पनि आफ्नो पेशादेखी सन्तुष्ट हुँदैन । जसलाई गएर सोध्यो भनेपनी उसले आफ्नो पेशा प्रती बितृष्णाको कुरा गर्छ र अर्काको पेशा चाहिँ राम्रो छ भन्ने ठान्छ । हामीले देख्छौ सबैभन्दा नेपालमा ठुलो मानिएको पेसा डाक्टर हो । तर उहाँहरुसंग केही आफ्नो लागि गर्ने समय हुँदैन । उहाँहरुको काम धेरै तनावग्रस्त हुन्छ । मैले देखिरहेको हुन्छु ।
त्यस्तै अन्य पेशाहरु लाग्ने ब्यक्तिहरुलाई पनि अरुको पेशा सजिलो र आफ्नो गाह्रो देख्ने चलन छ । मैले पनि धेरै गर्नु सिक्नु बाँकी नै छ । यो भन्दा राम्रो र धेरै नै समाजको लागि गर्नु छ ।












