२ पुष, काठमाडौं । प्रहरी प्रधान कार्यालयले चार वटा सुगर मिलका सञ्चालकहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको बक्यौता रकम भुक्तानी नदिने अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
त्यस्तै, रौतहटस्थित श्रीराम सुगर मिलका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवाल तथा पश्चिम नगवलपरासीस्थित लुम्बिनी सुगर मिलका सञ्चालक श्रेया अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनीहरुविरुद्ध ठगीमा मुद्दा चलाउन पक्राउ पूर्जी जारी गरिएको हो ।
आरोपितहरुको खोजी गर्नका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र पश्चिम नवलपरासीले महानगरीय अपराध महाशाखालाई पनि पत्राचार गरेको बताइएको छ । यसका साथै काठमाडौंमा समेत व्यापारीको खोजीमा प्रहरी जुटेको बताइएको छ, तर अहिलेसम्म कुनै पनि व्यापारीहरु फेला पर्न नसकेका प्रहरी प्रधान कार्यालय उच्च स्रोतको भनाइ छ ।
त्यसोत, गत मंगलबार गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही एवं सम्वन्धित मन्त्रालयका सचिव सम्मिलित बैठकले किसानलाई बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिलका सञ्चालकविरुद्ध ठगीमा कारबाही गर्न निर्देशन दिएको थियो ।












